‘श्रीमान कम्युनिष्ट भएकैले घर छाड्नुपर्यो’
गुगलपाटी संवाददाताहजुरआमाका कथा
अमृता लम्साल
त्यहाँ एउटा सानो किताब छ, ‘गुणरत्न’ लेखिएको। ‘यो संसार अपार हो बुझिसकेँ, आफ्नो यहाँ के छ र! पत्नी, पुत्र, शरीर, सम्पत्ति सबै छन् ईश्वरकै भर! ‘आफ्नो त २० सालदेखि नै ईश्वरको भरबाहेक केही छैन। हे ईश्वर भन्यो, हे दैव भन्यो, बाँच्यो,’ ८५ वर्षीया ताराकुमारी राईले भनिन्। ताराकुमारीका बाबु हर्कराज राई भारतीय सेनामा ‘कप्तान’ थिए। त्यो बेला काठमाडौंभरि पूर्व-पश्चिममा १८ जना मात्र कप्तान थिए रे। तीमध्ये एक उनका बाबु रहेछन्। आमा खड्कमाया राईको कोखबाट ताराकुमारी नौले गाउँ, छिनामखु, पूर्व भोजपुरमा बिक्रम सम्वत १९९० मा जन्मिएकी हुन्।
ताराकुमारीको बिहे १० वर्षको उमेरमा भयो। देवराज राईसँग। बिहे भएको करिब तीन वर्ष उनी माइती नै बसिन्। त्यसपछि, ‘सिन्दुरे साइत’ जुराएर उनलाई श्रीमानको घर लगियो।
उतिबेला ‘मागी विवाह’ चल्थ्यो। किराँतीहरूको चलनमा पहिले मौखिक कुराकानी छिनिन्थ्यो। त्यसपछि सँधियार र दाजुभाइसहित जाँड, रक्सी, रोटी लिएर माग्न जान्थे रे। तर ताराकुमारीको आमाले ‘छत्रपत्र’ ल्याउन लगाएर, पुराण लगाएर कन्यादान दिएकी थिइन् रे!
श्रीमानकै कारण ताराकुमारी पनि राजनीतिमा जोडिइन्। तस्बिरः नारायण महर्जन/सेतोपाटी
ताराकुमारी र उनका श्रीमान देवराजको चित्र। तस्बिरः ताराकुमारीको पारिवारिक संकलन
उनीहरू किराँत धर्म मान्थे। तर किन बाहुन-क्षत्रीको चलनअनुसार बिहे गरेको?
यसको जानकारी दिँदै ताराकुमारी भन्छिन्, ‘हामी त, बाहुन गाउँ वरिपरि हुर्केको। मेरो मावल पनि बाहुन गाउँ नै। आमाको जन्म पनि त्यतै। हामी गाउँका बाहुनहरूलाई नि मामा भन्थेम्। त्यसैले बाहुन चलन जस्तै गरियो होला।’
बाहुन-क्षत्रीको बसोबास रहेको उनको माइतीमा हिन्दु धर्मकै प्रभाव धेरै परेको रहेछ। उनमा यो प्रभाव यथावत छ। शरीरले साथ दिँदा उनी बिहान उठेर हिन्दु धर्मशास्त्रका श्लोकहरू पाठ गरेर मात्रै दिन सुरुआत गर्दिरहिछन्।
बिहे गरेपछि गाउँका अन्य बुहारीले गर्नुपर्ने काम नै उनको दिनचर्या बन्यो। घरका काम, घाँस काट्ने, वस्तुभाउ स्याहार्ने।
‘बर्खामा हामी वस्तुभाउलाई माथि गोठमा लैजान्थिम्,’ पुराना दिन सम्झिँदै भनिन्, ‘तिनीहरूलाई घाँसाउनु पर्ने (घाँस काट्ने)। कहिले त रातभरि काट्नु पर्थ्यो। धान कुट्नु पर्थ्यो। आजकल जस्तो मिलसिल थिएन। ढिकीमा ढ्याङढ्याङ।’
राति घाँस कसरी काट्नु?
‘जून लाग्दा,’ उनले मेरो जिज्ञासा मेटाउँदै भनिन्, ‘जूनको उजेलोमा घाँस काट्ने रात हामी बाँसघारीमा सुत्थ्यौं। बाँसका नभिजेका पात कप्च्योले खुर्केर त्यसैमा सुत्ने। त्यसमा भुसुनाले खान्नथ्यो।’
बिहेपछि उनले खुब माइती सम्झिछिन्। ‘कप्तान बाबु’की छोरी जो थिइन्। अनुशासन कडा भए पनि शारीरिक दु:ख खास नपाएको बताउँछिन्।
बिहेको केही समयमै उनका श्रीमान देवराज भारततिर हिँडे। कलिलो उमेरमा उनी एक्लै परिन्।
केही समयपछि देवराज फर्किए। ‘कम्युनिष्ट’ भएर आएछन्।
परिवारमा त्यो ‘कम्युनिष्ट’ भएको छोरो स्वीकार्य भएन। उनीहरू घरबाट निस्किन पर्यो। घरका अरू सदस्य ‘कांग्रेसी’ थिए।
गर्भवती अवस्थामा ताराकुमारीले घर छाडेर हिँड्नुपरेको रहेछ।
छोरा-बुहारी र नातिनीसँग ताराकुमारी। तस्बिरः ताराकुमारीको पारिवारिक संकलन
बच्चा कहाँ जन्मियो त?
‘१० वर्षमा बिहे भो। १४ वर्षकी हुँदा घर छाड्नपर्यो । त्यो उमेरमा गर्भवती थिएँ। अर्काको घरमा जन्माएको हो नानी,’ उनले सुनाइन्।
कहाँ अर्काको घरमा? गर्भवती भएकी सानी केटी कहाँ गएर बच्चा पाइन् होला भन्ने जिज्ञासा बढ्यो।
‘माथि बडा बाउको घरमा,’ उनले मेरो जिज्ञासा हलुका बनाउँदै भनिन्, ‘घरका आमाबाउसँगै उहाँको नीति मिलेन होला। उहाँ कम्युनिस्ट भएकै घरकालाई मन परेन। के के भयो अरू त थाहा छैन। बुझ्दिनँ पनि थिएँ त्यो बेला। हामी घरबाट निस्केको मात्र थाहा छ।’
श्रीमान ‘कम्युनिष्ट’ भएकै कारण घर छाड्न बाध्य भएपछि ताराकुमारीको जीवन सहज भएन। घर चलाउन चाहिने सामानहरू केही थिएनन्। तीन वर्षसम्म घरको सम्पत्ति केही नलिई अर्काको घरमै दु:खजिलो गरेर बसेछन्। एकदिन सासूले भाँडाकुँडा र सम्पत्ति लिन बोलाइछन्। तर उनका श्रीमानले नजाने अडान कसेछन्।
त्यो क्षणको बयान उनी यसरी गर्छिन्, ‘सासूले तिमीहरूको भाँडाकुँडा लिन आओ भन्नुभो। घरमा सामान थिएन पनि। उहाँले त भो परेन मलाई भन्नुभो।’
उनका श्रीमान एकपटक मनमोहन अधिकारीलाई खोज्दै खोज्दै काठमाडौं आएछन्। घरमा सामानै नभएपछि ताराकुमारीले श्रीमान काठमाडौं गएका बेला केही भाँडाकुँडा किनेकी रहिछन्। त्यसमा पनि श्रीमानलाई चित्त बुझेको रहेनछ। आफूलाई भन्दै नभनी किनेकोमा चित्त दुखाए रे। उनले किनेको भाँडाकुँडामा समेत नखाने भनेर घुर्की लगाएछन्।
‘अनि के मा भात खाने त भनेर मैले सोधेँ,’ उनले सुनाइन्, ‘मलाई हाँडीमा पकाएर दिनु भन्नु भो। हाँडी नि थेन। कुमालेकोबाट ल्याएर त्यसमै पकाएर देऊ भन्नुभो।’
अनि अन्तिममा बाँसको ‘डम्फे’ ल्याएर ताराकुमारीलाई थमाउँदै भनेछन्, ‘यसमै देऊ।’
हाँडीमा पकाएर ‘डम्फे’ (बाँसको बोक्रा) मा खान दिनू भनेछन्।
अनि त्यस्तो दु:ख पाउँदा पनि माइती जानुभएन त? टाढा थियो र?
‘हैन, नजिकै थियो तर अनुशासन त्यस्तै हो। छोरी मान्छे अहिले जस्तो हिँडिहाल्न पाउने चलन थिएन। हाम्रो पालामा अनुशासन अति थियो नानी,’ उनले त्योबेला छोरीहरूमाथिको बन्धन बुझाउँदै भनिन्, ‘साथी लिएरमात्रै जानुपर्ने।’
बाबुको घरमा बसुन्जेल जुन बाटो उनी घोडाका काँध चढेर डुल्थिन्, बिहेपछि त्यही बाटो हिँड्दा उनका काँधमा डोको, घाँसदाउरा हुन्थे।
श्रीमानसँग धेरै समय साथ बस्न पाइनँ भन्दै थिइन् ताराकुमारी। तस्बिरः नारायण महर्जन/सेतोपाटी
परिवारका सदस्यका साथमा ताराकुमारी। तस्बिरः ताराकुमारीको पारिवारिक संकलन
उनका दिन, महिना, वर्ष यसैगरी बिते। ३० वर्ष पुगेकी थिइन्, श्रीमान बिते। श्रीमानसँग धेरै समय साथ बस्न पाइनँ भन्दै थिइन् ताराकुमारी।
‘०२० सालमा हो, उहाँ बिती जानुभो,’ उनले श्रीमानसँग बिताएका वर्ष हिसाब लगाउँदै भनिन्, ‘बिहा गरेको १० वर्षमा। १३ मा घर गइयो। चौध वर्षमा छोरी पाएँ। सोह्र वर्षकी थिएँ, उहाँ छाडेर पल्टन जानुभो। उताबाट आउँदा ‘कम्निष्ट’ भएर आउनुभो। कान्छी छोरी ०१८ सालमा जन्म्यो। छोरा ०२० सालमा। छोरा नौ महिनाको छँदा उहाँ बित्नुभो!’
उनका श्रीमान भारत गएर पल्टनमा जागिरे थिए। आफ्नो बाबुको मृत्यु भएपछि नेपाल आएका रहेछन्। यता आएपछि कांग्रेस र कम्युनिष्टको हलचलले गर्दा भारतमे चलेको ‘गुरिल्ला शैली’ ले लाग्नुपर्छ भनेर राजनीतिमा होमिएका रहेछन्।
अनि आएपछि कति सँगै बसियो त?
‘उहाँ राजनीतिमा कुदेको कुदै। घरिघरि मात्रै घरमा आउने। सँगै त कहाँ बस्न पाउनु नि,’ उनले भनिन्।
श्रीमान बित्दा जेठी छोरी ९ वर्षकी थिइन्। कान्छी छोरी ६ वर्ष। छोरा ९ महिना। ताराकुमारी ३० वर्ष। देवराज र ताराकुमारी १०/१२ वर्ष मात्रै सँगै बसेछन्।
‘के भएर बित्नुभयो त श्रीमान,’ युवा हुँदै ‘विधवा’ भएकोमा उनलाई दुःख लागेको देखेर सोधेँ।
‘खै के रोग लागेर जानुभो। पहेँले रोग (जन्डिस) हो कि, निमोनिया। थाहा छैन। घरमा बित्नुभको होइन,’ श्रीमान के कारणले बिते भन्ने पनि थाहा नभएको सुनाउँदै उनले थपिन्, ‘उहाँकी कान्छी बहिनीलाई दार्जिलिङ पढ्न पठाएको थियो। आमाले छोरी कहाँ पुर्याइदिस्, ल्याइदे, यहाँ पजनी गर्न (विवाह छिन्न) कुटुम्ब आको आकै छ भन्नुभो। बहिनी लिन गएको मान्छे बाटैमा बित्नुभो!’
अनि छोराछोरी हुर्काउन गाह्रो भएन?
‘जसरी तसरी हुर्के। सजिलो चाहिँ भएन। तीन वर्षमा घरकाले जग्गा दिए। त्यै कमाई गरेर खाइयो। दुःख गरेर हुर्काएँ नि नानी। माखी-मुन्द्री बेचेँ। ऋणपान गरेँ। सहयोगी धेरै थिए,’ उनले भनिन्।
श्रीमानको मृत्युपछि गाउँको ‘गुट राजनीति’ ले उनलाई पनि छाडेनछ।
मृत्यु हुनुअघि देवराज राई ‘प्रधानपञ्च’ रहेछन्। देवराज बितेपछि उनको ठाउँमा ताराकुमारीलाई चुनावमा उठाउने भएछन्। कांग्रेस उम्मेदवारलाई हराउन उनलाई उठाइएको रहेछ।
उनी भन्छिन्, ‘घरका कांग्रेसी। आमाजूको दुल्हा ध्यानबहादुर राई कांग्रेसी। हाम्रा दाजुहरू थुलुङ। नारदमुनी थुलुङ मेरो अन्तरे वडाको छोरा। म कान्छाको छोरी। अनि म ‘थुलुङे गुट’मा परेँ। ध्यान बहादुरको गुटभन्दा ‘देवराजको गुट’ (स्व. श्रीमान) को गुट राम्रो भनेर मलाई चुनावमा उठाए,’ श्रीमानको राजनीतिकै कारण घर छाडेकी उनले श्रीमान बितेपछि त्यही बाटोमा हिँड्न परेको सुनाइन्।
बिक्रम सम्वत् २०७५ को भाइटीकामा भदा-भदैनीसँग ताराकुमारी। तस्बिरः ताराकुमारीको पारिवारिक संकलन
भनिन्, ‘राति नै नानीहरू बोक्ने मान्छेसमेत लिएर आए। लु, लु, यिनलाई नउठाए ध्यानबादुरको गुटलाई जितिन्न भन्दै मलाई उठाए।’
अनि जितियो त चुनाव?
‘मैले जितेको हैन, जिताइदिए नि।’
उनी नौले गाउँ वडा नं. २ को वडाध्यक्ष भइन्। अवधि ४ वर्ष थियो तर पाँच वर्ष काम गरिछन्।
‘त्यो चुनाव नजितेको भए आफ्नै भाइ-छोराबाट खतरा थियो। जितेपछि पनि उनीहरूलाई इख बढ्यो,’ ताराकुमारी भन्छिन्।
त्यतिबेलाको शक्तिशाली पदमा रहेकी महिलालाई पनि आफ्नै घरपरिवारका केही सदस्यले गाउँबाटै धपाएछन्। उनका श्रीमानका ५ दाजुभाइ र ५ बहिनी थिए। तीमध्ये एउटी नन्द र दुई जना देवरले देखिनसहेको उनी बताउँछिन्।
भन्छिन्, ‘एउटी नन्द र दुइजना देवरलाई मैले आफ्नो बनाउन सकेन। आखिरी उनीहरु नै भए मेरो मुटु लुस्ने। श्रीमान नभएपछि झन् हेप्न थाले। कुटाइ पनि खाएँ । मेरो देवरहरूले मलाई अंश त नदिनू, ‘काटकटुवा’ खाएर बस्छ भने।’
‘काटकटुवा’ भनेको गरी खान ठिक्क हुने तर बेच्न नपाइने गरी मात्रै ‘पाली’ मा बस्न दिने रहेछ।
‘एकदिन त बञ्चरोसञ्चरो ल्याएर घर काटिदिए। काइँला देवरले त मलाई मधेसमा स्यालले पाठा फ्याँकेजस्तो उचालेर पर फ्याँकिदिए। यो मेरो यहाँको हड्डी भाँचेर यति अग्लो थियो,’ कुमनिर छातीपट्टीको भागमा हड्डी भाँचिएको ठाउँ देखाउँदै उनले भनिन्, ‘ह्याँको हड्डी कमलो हुँदो रहेछ नि त।’
पटकपटकको अत्याचार सहन नसकेर उनी दसवर्षे छोरा च्यापेर भागिन्। झापा गइन्। त्यतिबेला जेठी छोरीको भर्खरै बिहे भएको रहेछ। बिहेको नौ दिनपछि उनी हिँडेकी रहिछन्।
गोसाइकुण्ड यात्रामा ताराकुमारी र उनकी सम्धिनी। तस्बिरः ताराकुमारीको पारिवारिक संकलन
घरदैलो सबै भत्काएर उनलाई भाग्न बाध्य बनाएपछि गाउँमा देवरहरूले नै ‘पोई खोजेर खेदेर पठाइयो’ भन्दै हल्ला फिँजाइदिएछन्।
उनले झापामा १० वर्ष बिताइन्। फेरि आफ्नै थलो फर्किइन्। त्यो बीचमा आफ्नो जग्गाजमिन कमाउन दिएकी रहिछन्। बीचबीचमा आउनेजाने गरिछन्। अहिले गाउँको खेतीपाती उनका एक मात्र छोराले सम्हालेर बसेका छन्। ताराकुमारी भने पाँच/छ वर्षदेखि काठमाडौंमा छिन्। ‘त्यसै गर्दागर्दै यहाँसम्म बाँचियो। अहिले मलाई यस्तो रोग लाग्यो,’ उनी आफूलाई क्यान्सर भएको सुनाउँदै थिइन्। ‘खुसी र रमाइलो मैले देखिनँ नानी,’ उनले सुनाइन्, ‘पहिला पनि कैले सुख पाएन। टाउकोमा नाम्लो राखेर हिँड्दा हिँड्दा कपाल काट्नै परेन। सप्पै झर्यो। घाँस बोक्दा, पानी बोक्दा, दाउरा बोक्दा निधार खुइलेको छ।’
अहिले रोगले सताए पनि उनको मनलाई सन्तोष छ। भन्छिन्, ‘छोराछोरी, नातिनातिना, बुहारीहरूको माया पाएर बस्याछु। व्यवहार पनि फार्सेछु (व्यवहार सिध्याएर बसेको)।’ मनको सन्तोषलाई शरीरले साथ दिएको छैन। रोगका कारण अत्यधिक पीडा हुन्छ। कम गर्न उनलाई मोर्फिन दिने गरिएको छ। नातिनी सुम्निमा राई उनको स्याहारमा खटिएकी छन्। ताराकुमारी शरीर नदुखेका बेला ओछ्यानमा बस्नै नरुचाउने सुम्निमाले सुनाइन्। ‘बजू त बिहान पनि सकिनसकी उठेर जप, पाठ गर्नुहुन्छ। जति भने पनि मान्नुहुन्न,’ उनले हजुरआमाको दिनचर्या सुनाउँदै भनिन्, ‘रातो लुगाफाटा लाउन मान्नुहुन्न। हामी कत्ति सम्झाउँछौं। माने पो।’त्यसो गर्नमा पनि उनलाई हिन्दु धर्मको प्रभाव रहेछ। ‘नभए त श्रीमान नहुनेले रातो लगाउन नहुने हाम्रो चलन होइन, कसैले पनि त्यसो गर्दैन,’ नातिनी सुम्निमा भन्छिन्। ‘आफूले त्यति धेरै दु:ख पाए पनि फुपू र बुबालाई पनि राम्रोसँग पढाउनुभयो बजूले,’ सुम्निमा आफ्नी हजुरआमाप्रति आदर र स्नेह जताउँछिन्। स्रोतःसेतोपाटी