कुलमान आज भारत जाँदै, इनर्जी बैंकिङबारे सम्झौता हुने
गुगलपाटी संवाददाताकाठमाडौं – इनर्जी बैंकिङका विषयमा केन्द्रित भई हुने छलफलमा भाग लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज मंगलबार भारत जाँदैछन् ।
नेपाल भारत उर्जा उर्जा आदान प्रदान समितिको बैठकमा सहभागी हुन कुलमान आज त्यसतर्फ जान लागेका हुन् । बैठकमा लामो समयदेखि कुरा चल्दै आएको इनर्जी बैंकिङको विषयमा सम्झौता हुने उर्जामन्त्री बर्षमान पुन अनन्तले जानकारी दिए ।
सोमबार मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री पुनले ‘नेपाल भारत पावर कमिटिको बैठक आज मंगलबारदेखि भारतमा हुने र ठूलो परिमाणको इनर्जी बैंकिङ सम्झौता बैठकमा राम्रो प्रगति हुनेमा विश्वस्त रहेको बताए ।
बर्खायाममा नेपालमा बिजुली खेर जाने र हिउँदमा कम भएर भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । यसको अन्त्य गर्न बर्खायाममा नेपालले भारतलाई बिजुली दिने र त्यति नै बिजुली हिउँदमा नेपाल ल्याउनको लागि इनर्जी बैंकिङको अवधारणा ल्याइएको हो ।
भारतका केही ठाउँमा सिँचाइको कारण बर्खायाममा पनि बिजुली अभाव भैरहेकाले भारतले पनि इनर्जी बैंकिङमा चासो दिँदै आएको छ ।