नवाज सरिफलाइ सात वर्ष जेल हाल्ने फैसला
गुगलपाटी संवाददाताइस्लामवाद — पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले सोमबार सात वर्षको जेल सजायको फैसला सुनाएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण यसअघि देखि नै थुनामा रहेका सरिफलाई अदालतले सोमबार अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो ।
फैसला पूर्व प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएका बताइएको छ ।
पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका सरिफले भने आफूमाथि लागेका भ्रष्टाचारसम्बन्धी सबै आरोपहरूको खण्डन गरेका छन् । उनले पाकिस्तानमा प्राय हाबी हुने शक्तिशाली सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफूमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतहरूमा समेत परेको आरोप लगाउँदै आएका छन् ।
सोमबारको फैसलामा राज्य शक्ति र स्रोतको दुरुपयोग गरेर मध्यपूर्वमा परिवारको तर्फबाट व्यापार गरेको र त्यसमा अनियमितता भएको भेटिएको उल्लेख छ ।
पाकिस्तानी राज्यद्वारा सञ्चालित टेलिभिजनले उनलाई अदालतले १५ लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकेको समाचार प्रसारण गरेको छ ।
थुनामा रहेका सरिफलाई अब लाहोरस्थित जेलमा लगिने अधिकारीहरूले जनाएका छन् । फैसला सुनाइएपछि अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।