राक्सिराङ गोल्डकपको उपाधी ३ नम्बर वडालाई
गुगलपाटी संवाददाताहेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिकामा सञ्चालन भएको प्रथम राक्सिराङ रनिङशिल्ड गोल्डकप फुटवब प्रतियोगिताको उपाधी ३ नम्बर वडाले जितेको छ । सोमबार भएको फाईनल खेलमा ५ नम्बर वडालाई २–१ को गोलअन्तरले पछि पार्दै ३ नम्बर वडा विजयी भएको हो ।
३ नम्बर वडाको तर्फबाट सुजन कुमार ओझा र पुरन शाहले समान एक/एक गोल गरेका थिए । राक्सिराङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैंयासहित दुई तोला सुन र ५० तोला चाँदी जडित कप र उपविजेता टिमले २५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
राक्सिराङ गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर तीनका प्रमुख प्रतिपक्षि दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, नेपाली काँग्रेस जिल्ला सचिव बुद्ध लामा, नगर सभापति आनन्दराम पराजुली, मकवानपुर जिल्ला फुटवल संघका अध्यक्ष टीका लामा, खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, सचिव राजन दाहाल खुसराजलगायतकाको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा राक्सिराङ गाउँपालिकाका ९ वटा वडाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।