चेपाङ बस्तीमा क्रिसमसको उल्लास
गुगलपाटी संवाददातापुस १०, २०७५ , चितवन: – इसाई धर्म मान्नेहरुले मनाउने क्रिसमस पर्वको रौनक नेपालमा बढ्दो छ । सहर बजारमा देखिने क्रिस्मसको माहौलमा रमाउनेमा क्रिश्चियनहरु मात्रै हुँदैनन् । तर, पछिल्लो समय सहरमा भन्दा गाउँका कुनाकाप्चामा क्रिश्चियन हुनेहरुको संख्या बढिरहेको छ ।
सिद्धि तीन दोभान नजिक रहेको चेपाङ गाउँमा क्रिसमस मनाउनका लागि सोमबार दिउँसो सिँगार पटार चल्दै । तस्बिर स् रमेशकुमार पौडेलरकान्तिपुर
ती ठाउँहरुमा क्रिसमस ठुलै पर्वका रुपमा हर्षोल्लासका साथ मनाइन्छ। चितवन जिल्लाका चेपाङ बस्तीलाई अहिले क्रिसमसले छोपेको छ।
साविकको सिद्धि गाविस अहिले कालिका नगरपालिकाको वडा नं। १० र ११ मा पर्छ। यो गाउँमा ९० प्रतिशतभन्दा धेरै बासिन्दा चेपाङ समूदायका छन्। त्यहाँ पुग्नै पनि त्यति सजिलो छैन।
सुरुमा भरतपुरबाट गाडीमा डेढ घण्टा लगाएर शक्तिखोर बजार जानुपर्छ। भरतपुरबाट उत्तर–पूर्वमा छ शक्तिखोर बजार। शक्तिखोरबाट पूर्व जाने कच्चिबाटोमा अचेल फाट्टपलुट्ट साना गाडी चलेका छन्। तिनै साना गाडी चढेर सिद्धिको तीन दोभान गएपछि पैदल हिँडेर जानुपर्ने हुन्छ चेपाङ वस्ती पुग्न। समथर भुभाग साह्रै कम छ। डाँडा–काँडामा चेपाङका घर छन्।
सोमबार दिउँसो तीन दोभानबाट रन्तेस गाउँ जाँदै गर्दा एक हुल चेपाङ युवतीहरु भेटिए। उनीहरु क्रिसमसकै लागि केही किनमेल गर्न शक्तिखोर जाँदै थिए। केही तीन दोभानको चर्च सिँगार्न आएका थिए। रन्तेसमा भेटिए चन्द्रमान चेपाङ एक घण्टा ठाडो उक्लिएर आफ्नो घर मझवाङ पुग्ने हतारोमा थिए।
‘गाउँमा मासु भनेको छ। चाँडै नगए उठी सक्छ। हतार गर्नै पर्यो,’ चन्द्रमानले भने। मंगलबार परेको क्रिसमसका लागि उनले एक हप्तादेखि तयारी गरेको बताए। १० जनाको परिवार भएका चन्द्रमानको क्रिसमसमा १० हजार रुपैयाँ जति खर्च हुन्छ। नयाँ कपडा, खानपान लगायतमा खर्च हुने उनले बताए। चर्चमा गएर सामूहिक प्राथना गर्दा झनै रमाइलो हुन्छ भन्दै उनी डाँडो उक्लिए।
कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर चेपाङ गाउँमा अहिले क्रिश्चियन नभएको घर भेटिनै मुस्किल छ। ‘सबै लागेका छन् एकाध मात्रै म लाग्दिन भनेर बस्न मिलेन। एउटा गाउँमा दुईवटासम्म चर्च छन्। त्यसैले क्रिसमसका बेलामा ठुलै उल्लास हुन्छ,’ वडाध्यक्ष कृष्णबहादुरले भने।
चेपाङहरुको परम्परागत मुख्य पर्व छोनाम अर्थात न्वागी हो। जुन भदौमा पर्छ। तर क्रिसमसमा जुन उत्सवको महौल हुन्छ त्यो अरु बेला कमै देखिन्छ।
वडा नम्बर ११ को कार्यालय नजिक नै चर्च छ। सोमबार दिन ढल्दै गरेका बेलामा त्यहाँ एक हुल युवा युवतीले रंगिन पतकाहरु टाँगेर चर्चलाई सिँगार्दै थिए। साउण्ड बक्सबाट प्रभु यशुका भजनहरु बजिरहेको थियो। मंगलबार क्रिसमसका दिन यहाँ ठुलै जमघट हुने भएका कारण पूर्व तयारीमा पाष्टर गयासिंह प्रजा चेपाङ आफैं जुटेका थिए।
‘क्रिसमसका दिन यहाँ तीनसयजना भेला हुँदैछन्,’ पाष्टर गयासिंहले भने। उनी ५७ सालमा पाष्टर बनेका रहेछन्। वडा कार्यलय आडको चर्च ६२ सालमा बनेको रहेछ। पाष्टर गयासिंहले भने, ‘हाम्रो यो वडा नम्बर ११ मा अहिले ११ वटा चर्च छन्। सबै चर्चमा राम्रै जमघट हुन्छ। गाउँमा अइतबारदेखि नै क्रिसमस मनाउन थालेका छन्। चर्चमा पनि हामी आफैंले सय डेढ सय उठाएर कार्यक्रम गर्छौं।’
क्रिसमसका दिन चर्चमा भेला भएर प्राथना गर्ने उपहार दिने चलन रहेको पाष्टर गयासिंह चेपाङले बताए। कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर चेपाङ पर्व मनाउने क्रममा चेपाङको खर्च बढ्दै गएको बताउँछन्। ‘मनाउँदै आएको दशैं च्याट्टै छाडेको पनि छैन। फेरि क्रिसमस पनि मनाउने भए। दशैंमा जत्तिको खर्च क्रिसमसमा पनि हुन्छ। चेपाङको आम्दानी बढ्न सकेको छैन। खर्च भने बढ्यो,’ वडाध्यक्ष कृष्णबहादुरले भने।
चेपाङ अगुवा गोविन्द चेपाङका अनुसार ४७ सालपछि गाउँमा क्रिश्चियन मान्नेहरुले धर्म प्रचार गर्न सुरु गरेको थिए। ‘५० सालपछि अलि बढी भयो। ५१ सालमा पहिरोले मकवानपुर र चितवनका पहाडी क्षेत्रमा दुस्ख दियो। गोविन्द नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष र पहिलो संविधान सभाका सदस्य पनि हुुन्।
भूकम्पपछि पनि क्रिश्चियनहरु बढी सक्रिय भएको उनले बताए। ‘नभए मुल रुपमा चेपाङहरु प्रकृति पुजक हुन्। जल जमिन र रुख बिरुवाको पुजा गर्ने। अचेल यो परम्परा बुढाहरुले धानेका छन्। अहिले चेपाङ मात्रै हैन पहाडी क्षेत्रमा अल्पसंख्यक प्राय जसो क्रिश्चियन भएका छन्। पहिला यो समुदायभन्दा बाहिरकाहरुले नै गाउँमा धर्म प्रचार सुरु गरेका हुन्,’ गोविन्द चेपाङले सुनाए। स्रोतःकान्तिपुर