सहज भएन सुरक्षित गर्भपतन
गुगलपाटी संवाददाताकाठमाडौँ, पुस १० अनिश्चित गर्भ बसेपछि सिन्धुलीकी २५ वर्षीया एक महिला खुब आत्तिइन् । काखमा अर्को दुध खाइरहेको बच्चा थियो । घरको आर्थिक अवस्था कमजोर भएकाले अर्को बच्चा जन्माउन सुरक्षित लागेको थिएन उनलाई ।
काखमा बच्चा हुँदाहुँदै उनलाई अर्को बच्चा जन्माउने रहर पनि थिएन । गर्भपतनबारे उनले घरमा भन्ने आँट पनि भएन ।‘पेटको बच्चा फाल्ने कुरालाई राम्रो मान्दैनन् । अरुकै गर्भ बोकेको शंकामा गाउँभरि कुरा काट्छन्,’ उनी भन्छिन् । घरबाट एक घण्टा दूरीको स्वास्थ्य संस्थामा गर्भपतन सेवा छ भन्ने पनि उनलाई थाहा नभएको होइन । बरु नजिकको ठाउँमा गर्भपतन गरे गाउँभरि हल्ला होला र चरित्रमा औंला उठ्ला भन्ने डर थियो । जसरी हुन्छ गर्भपतन गर्ने निर्णयमा पुगेपछि उनी यातायात खर्चका लागि ऋण खोजेर जनकपुर हिँडिन् ।
श्रीमान् लगायत घर परिवार सदस्यसँग सल्लाह नगरी उनले निजी क्लिनिकमा गर्भपतन गराइन् । उनी भन्छिन्, ‘घरैछेउ पैसा नतिरी गर्भपतन गर्ने सरकारी सेवा थियो, तर त्यहाँ छिर्ने आँटै आएन ।’ मुलुकी ऐनले गर्भपतनलाई महिलाको प्रजनन् अधिकार मानेको छ । यसै ऐनलाई प्रतिस्थापन गर्न बनेको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार गर्भवती महिलाको मञ्जुरीले बाह्र हप्तासम्मको गर्भ पतन गराउन सकिन्छ ।