बिदा कटौतीप्रति मगर समुदाय आक्रोशित
गुगलपाटी संवाददाताहेटौंडा– नेपाल मगर संघले माग १ गते अर्थात माघे संक्रान्तिको दिन सार्वजनिक विदा दिन माग गरेको छ । मगर संघ ३ नम्बर प्रदेश नेवाः ताम्सालिङ समिति तथा मकवानपुर समितिले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै मगर समुदायको महत्वपूर्ण पर्वको रुपमा रहेको माघे संक्रान्तिमा विदा दिन आग्रह गरेको हो ।
नेपाल मगर संघका केन्द्रीय सदस्य अशोक सारु मगरले आफूहरुलाई सरकारले हेपेको र होच्याउने काम गरेको गुनासो गरे । मुलुक धर्मनिरपेक्ष भएको अवस्थामा पनि मगर समुदायको महत्वपूर्ण पर्वको विदा कटौती गरेर मगर समुदायलाई होच्याउने काम गरेको उनले बताए ।
सरकारको ध्यानाकर्षण गराउँदै उनले आफूहरुले नेपालको सबैखाले परिवर्तनको लागि लडेको र लडाईको उपलब्धी पछि प्राप्त गरिएको अधिकारको कटौती गरेकोमा दुःख व्यक्त गरे । सरकारले मगर समुदायको मागलाई गम्भीर रुपमा लिएर विदा कटौतीको निर्णय सच्याउन उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल मगर संघ ३ नम्बर प्रदेश समिति अध्यक्ष राजकुमार थापा मगर, सचिव सविन पुलामी मगर, मकवानपुर जिल्ला अध्यक्ष शंकर थापा मगरलगायतको उपस्थिती थियो । संघले बिहीबारै जिल्ला प्रशासन कार्यालय मार्फत सरकार तथा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई समेत ज्ञापनपत्र बुझाएको छ ।