सकियो वर्षे अधिवेशन, तर किन टुङ्गिएन स्थायी राजधानी
गुगलपाटी संवाददाताहेटौंडा– प्रदेश नम्बर तीनको वर्षे अधिवेशनको अन्त्य गरिएको छ । बिहिबार राती १२ बजेबाट अधिवेशन सकिएको घोषणा गरिएको हो । तर, सबैलाई चासो रहेको प्रदेश राजधानी र नामाकरणको विषय भने टुङ्गिन सकेन ।
वर्षे अधिवेशनमा नै स्थायी राजधानी र नामकरण गर्ने दाबी मुख्यमन्त्री डोरमणि पौडेललगायतले गरेको भए पनि टुंगो भने लाग्न सकेन । राजधानीका लागि सहमति प्रयास भइरहेकाले अर्को अधिवेशनमा मात्र सो विषयले टुंगो लगाउने अपेक्षा गरिएको छ । प्रदेशसभाको अघिल्लो कार्यव्यवस्था परामर्श समितिको बैठकले राजधानीबारे निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको थियो ।
बिहिबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख सानुकुमार श्रेष्ठले वर्षे अधिवेशन सकिएको घोषणा गरे । जेठ १ गतेबाट सुरु भएको वर्षे अधिवेशनमा ४२ दिनमा ६१ पटक प्रदेशसभाको बैठक बसेको सभामुख श्रेष्ठले जानकारी दिए ।
प्रदेशसभामा हालसम्म २८ वटा विधेयकहरु दर्ता भएका छन् । त्यस मध्ये २४ वटा विधेयक पारित भइसकेका छन् । दोश्रो अधिवेशनमा प्रदेशसभाले बजेट पारित गरेको छ भने केही महत्वपूर्ण विधेयकहरु पनि पारित गरेको छ ।
यो अधिवेशनबाट प्रदेशको स्वास्थ्य सम्बन्धी विधेयक, खेलकुद सम्बन्धी विधेयक, सञ्चार विधेयक, संस्था दर्ता सम्बन्धी विधेयक, प्रदेश दुग्ध विकास बोर्ड विधेयक, प्रदेशसभा सचिवालयसम्बन्धी विधेयक, प्रदेशसभा सदस्य, मन्त्रीपरिषद् र सचिवालयको सेवा सुविधासम्बन्धी विधेयकलगायत महत्वपूर्ण विधेयकहरु पारित भएका छन् ।
यहि अधिवेशनको अवधिमा राजधानी अध्ययन विशेष समितिका प्रतिवदेन सभाले बुझेको छ भने प्रदेशसभा नियमावली संशोधन गर्न पनि समिति बनेको छ । ६१ पटक बसेको बैठक ६६ घण्टा २० मिनेट चलेको थियो ।