लौ अचम्म, मेयरले सफाई पाउँदा सार्वजनिक बिदा !

गुगलपाटी संवाददाता
१५ पुष २०७५ ००:४०

रौतहट– रौतहटको कहटरिया नगरपालिकाका मेयरले आफूले सफाई पाएको खुसीयाली मनाउन सार्वजनिक बिदा नै घोषणा गरेका छन् । कटहरिया नगरपालिकाले आज नगरको सबै वडा कार्यालय र विद्यालयमा विदा दिएको छ ।

हत्या अभियोगमा पक्राउ परेका मेयर शियाराम कुशवाहाले सफाई पाएको भन्दै नगरपालिकाले बिदा घोाषणा गरेको हो । जेलबाट छुटेपछि हेलिकोप्टर चढेर रौतहट पुगेका कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

नगरपालिकाद्धारा शनिबार सूचनामा भनिएको छ, ‘नगरबासीका सच्चा अभिभावक नगर प्रमुख श्री सियाराम प्रशासद कुशवाहा ज्यू सम्मानित अदालतनको मिति २०७५/०९/१३ गतको फैसलाबाट सफाई पाई निर्दोष सावित हुनु भएको खुसीयालीमा भोलि ‘।। विदा रहने व्यहोरा यस कार्यालयका प्रमुख स्तरीय निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विश्व हिन्दु महासंघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले २५ फागुन २०७४ कुशवाहालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतको आदेश कार्यान्वयन नभइरहेको बेला कुशवाहा कटहरियाको मेयर निर्वाचित भए ।

तर, अदालतको फैसला कार्यान्वयनका क्रममा उनी २६ वैशाखमा काठमाडौंबाट पक्राउ गरे । त्यसविरुद्ध सर्वोच्च गएका उनले शुक्रबार सफाइ पाएका थिए ।