महिला शक्तिले बुझायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र

गुगलपाटी संवाददाता हेटौंडा,१७ पुस
१६ पुष २०७५ १२:३१

नयाँ शक्ति पार्टी नेपाल सम्बद्ध महिला शक्ति महासंघ नेपालले तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको छ । निर्मला पन्तको वास्तविक बलात्कारी हत्यारा पत्ता लगाई कडा कारबाही गर्न माग सहित महिला अधिकारका अन्य मागहरु राख्दै आज ज्ञापनपत्र बुझाएका हुन् ।
महासंघकी इन्चार्ज तथा नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीको उपस्थितीमा महासंघ प्रदेश तीनकी संयोजक सिर्जना रिजालले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा अंश र वङ्शमा समान अधिकार, चेलिबेटी बेचबिखनको अन्त्य, समान कामको समान ज्याला, प्रजनन् स्वास्थ्यमा अधिकार, निःशुल्क शिक्षाको व्यवस्था र हिंसामा परि वैदेशिक रोजगारीबाट फर्किएर बसेका महिलाहरुको उचित व्यवस्थापन गर्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पौडेलले आफु महिलावादी भएको बताउँदै आफ्नो क्षेत्रबाट गर्न सक्ने सबै काम हुने बताए । ‘मैले प्रदेशको नीति र सरकारले गर्ने काम महिलाको पक्षमा नै अघि बढाउने प्रयास गरिरहेको छु’, उनले भने, ‘तपाईहरुले उठाउनुभएको कुराप्रति म जानकार र गम्भिर छु ।’
कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले सातै प्रदेशमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताईन् । ‘देशभरबाट दवाब दिने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको हो’, उनले भनिन्, ‘प्रदेश सरकारले यसलाई गम्भिरताका साथ लिने हाम्रो विश्वास छ ।’
ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री कार्यालयमा नयाँ शक्ति पार्टी नेपालकी नेतृ तथा पूर्व मन्त्री कल्पना धमला, मकवानपुर पार्टी संयोजक जीवनमान मोक्तान, सचिव तथा संगठन बिभाग प्रमुख राजेन्द्र सिम्खडा, हेटौंडा नगर संयोजक राजकुमार भेट्टवाल लगायत पुगेका थिए ।