आज इस्वी संवत्अनुसार नयाँ वर्ष, प्रधानमन्त्रीले दिए यस्तो शुभकामना
गुगलपाटी संवाददाताकाठमाडौं– आजबाट इस्वीसंवत्को सन् २०१९ सुरु भएको छ । जनवरी १ तारिखदेखि सुरु हुने नयाँ वर्षलाई संसारभर मनाइरहिएको छ ।
येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारित छ । जसअनुसार ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेण्डको एक वर्ष हुन्छ ।
विश्वका अधिकांश मुलुकमा प्रचलनमा रहेको र प्रत्येक वर्ष जनवरी को पहिलो तारिखका दिनबाट सुरु हुने इस्वी संवत जनवरीको पहिलो तारिखबाट सुरु हुन्छ । सन् २०१८ लाई विदाई गर्दै नयाँ वर्ष २०१९ लाई विश्वभर भब्य रुपमा स्वागत गरिएको छ ।
नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै विशेष किसिमको अङगुरको रस र रोटी खाने प्रचलन छ । विश्वब्यापीकरणको प्रभाव र हर्षोल्लासका दृष्टिले ईस्वी संवतको यो नयाँ वर्ष नेपालमा पनि शुभकामना आदानप्रदान गरी मनाइँदै छ । नयाँ वर्ष मनाउन राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको आयोजनाहरु गरिएका छन् ।
नयाँ वर्षको उपलक्ष्यमा विश्वभरका नेताहरुले विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताएका छन् ।
प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले सन् २०१८ संविधान कार्यान्वय र संक्रमणकाल अन्त्यको वर्ष भएको बताएका छन् ।