पर्यटकको रोजाईमा मकवानपुरगढी
गुगलपाटी संवाददाता हेटौंडा पुस १८करिब साढे दुईसय वर्षअघि गोर्खाली र अंग्रेज फौजबीच युद्ध हुँदा अंग्रेज फौजलाई पराजित गरी इतिहास रचेको स्थान मकवानपुर गढी किल्लामा पछिल्लो समय पर्यटकको आकर्षण बढ्न थालेको छ ।
घुमफिर, अनुसन्धान तथा वनभोज खान आउनेहरुको संख्या वृद्धि भएसँगै गढी दरबार
रहेको डाँडामा भीड लाग्ने गरेको छ । अन्य दिनभन्दा शनिबारको दिन गढी दरबार क्षेत्रमा आन्तरिक पर्यटकको संख्या निकै बढी हुने गरेको स्थानीय सागर तिमल्सिनाले बताए ।
मंसिर महिनायता हरेक शनिबार ५० भन्दा बढी समूहले वनभोज कार्यक्रमको आयोजना गर्ने गरेका
छन् । वनभोजको लागि गढी पर्यटन विकास समितिले सुविधासम्पन्न सेज निर्माण गरेको छ । डाँडैभरी पानी, बत्ति तथा टहराको व्यवस्थापन गरी वनभोजको लागि स्थान बनाइएको छ ।
संघीय, प्रदेश, स्थानीय सरकार र नेपाली सेनाले मकवानपुरगढीको दरबार, विजय तथा एकीकरण पार्क, सानो गढी र ढुङ्गे गढीलाई जीर्णोद्धार गरी गढीलाई विजय स्मारकको रूपमा विकास गर्न काम थालिसकेको छ । मकवानपुर गढीमा केही वर्षदेखि माघ १० गते विजय उत्सव मनाउने गरिएको छ । विसं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई नेपाली (गोर्खाली) सेनाले पराजित गरेका थिए ।
३ हजारका संख्यामा रहेको अंग्रेजको फौजलाई मकवानपुरगढी दरबारको तत्लो भाग शिखरकटेरीबाट अगाडि बढ्न नदिएर पराजित गरेका थिए ।
विजयी स्थल शिखरकटेरी किल्लादेखि ढुङ्गे गढीसम्म पदमार्ग निर्माण गर्ने र नेपाल–अंग्रेज युद्ध तथा नेपालको एकीकरण इतिहास झल्किनेगरी बृहत् रूपमा स्मारक बनाउने योजना रहेको गढी गाउँपालिकाका अध्यक्ष हुमागाईंले बताए । मकवानपुर गढीको पहिलो किल्लाको रुपमा रहेको विजयी किल्ला तथा एकीकरण किल्लालाई विजयी तथा एकता पार्कको रूपमा विकास गरेर पदमार्ग सुरु गरिने योजना रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
पद मार्गमा नेपाल–अंग्रेज युद्ध तथा नेपालको एकीकरण इतिहास सबै झल्किने चित्रण र शिलालेख बनाउने गाउँपालिकाको तयारी छ । माघ १० गतेभित्रमा नेपाली सेनाको पुरानो गोरख गणले राखेको मकवानपुरगढीको तोप गढी दरबार संरक्षण समिति बनाएर हस्तान्तरण गर्न पहल गरिनेसमेत जनाएको छ ।
उक्त किल्लामा गोर्खा फौजले जितेपछि देशभरिकै राज्यलाई एकीकरणको सुरुवात भएको थियो गढी दरबार आफ्नो कब्जामा आएपछि पृथ्वीनारायण शाहले मकवानपुरको सुपारेटारमा पुरानो गोरख गणको स्थापना गरेका थिए । गढी डाँडामा चारैतिर अग्लो पर्खालले घेरेको सेनको दरबार थियो । उक्त दरबारको भग्नावशेष अहिले पनि छ ।
त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली हो ।
मकवानपुर गढीमा सेन वंशीय राजाहरूले राज्य गर्थे । करिब १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो हो । मकवानपुरगढी विसं १६१० मा सेन वंशीय राजाको शासनकालमा निर्माण भएको बताइएको छ ।
हेमकर्ण सेनले राज्य चलाइरहेका बेला गोरखाका राजा पृथ्वीनारायण शाहलाई हेमकर्णले आफ्नी छोरी दिएर सम्धी बनाएका थिए । पृथ्वीनारायण शाहले यही सम्बन्धका आधारमा मकवानपुरगढीको सुरक्षा स्थिति बुझेर आक्रमणको योजना तयार गरेका थिए ।