पुनर्निर्माणमा मकवानपुरमा ७ अर्ब खर्च, ११ हजार मात्र घर बने
गुगलपाटी संवाददाताहेटौंडा–मकवानपुरमा हालसम्म निजी आवासको क्षेत्रमा नेपाल सरकारबाट ५ अर्ब ५ करोड १३ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।
पुनर्निर्माण प्राधिकरण कार्यान्वयन इकाईले गरेको कार्यक्रममा दिइएको जानकारी अनुसार खानेपानी, सिचाइँ, सडक, पहिरो नियन्त्रणमा एक करोड ७१ लाख र गाविस भवन निर्माणमा ५० लाख रुपैयाँ खर्च भएको छ ।
मकवानपुरमा २०७३/०७४ मा खानेपानी, सिचाइँ, सडक, पहिरो नियन्त्रणका लागि ३८ वटा योजना परेको थियो । यसैगरी जिल्लाका भत्किएका विद्यालय भवन निर्माणको क्षेत्रमा करिब २ अर्ब ३८ करोड खर्च भएको छ । हालसम्म पुनर्निर्माणको क्षेत्रमा ७ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको जानकारी दिइएको छ ।
मकवानपुरमा हालसम्म ११ हजार ७५ जना भूकम्प पीडितको भवन निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई हेटौंडाल दिएको जानकारी अनुसार २६ हजार ६ सय १८ लाभग्राहीले सम्झौता गरेकोमा ११ हजार ८ सय ५३ लाभग्राहीले मात्र तेस्रो किस्ताको रकम लिएका छन् ।
हालसम्म १८ हजार ३ सय १८ लाभग्राहीले दोस्रो किस्ता र २५ हजार ७ सय ९७ लाभग्राहीले पहिलो किस्ताको रकम बुझेका छन् । मकवानपुरमा ९० हजार ९ सय ९४ सर्वेक्षण हुँदा पहिचान भएका पूर्ण क्षति लाभग्राही संख्या भने ३३ हजार ९ सय ७४ जना रहेको जिल्ला कार्यान्वयन इकाई मकवानपुर प्रमुख सोमराज तिमल्सिनाले
जानकारी दिए ।
मकवानपुरका जोखिम बस्तीका लाभग्राही संख्या २५ रहेको छ । यस्तै मकवानपुरमा भूकम्प पीडितको २३ हजार ९ सय ६१ वटा गुनासो परेको थियो । परेका मध्ये १७ हजार १ सय ३९ गुनासो जाँच्दा १४ हजार ८ सय ९५ गुनासोको सम्बोधन भएको छ ।