रामबहादुर बम्जनको गतिविधिबारे प्रहरीको निगरानी, गढबढ गरे तुरुन्तै पक्राउ गर्न सकिने

गुगलपाटी संवाददाता
२० पुष २०७५ ००:२७

हेटौंडा– सिन्धुलीको सिलामेस्थित आश्रममा रहेका तपस्वी भनिएका रामबहादुर बमजन प्रहरीको २४ घण्टे निगरानीमा परेका छन्। सादा पोशाकमा खटिएका प्रहरी अधिकारीले सिन्धुली बजारदेखि ६ किलोमिटर दुरीमा रहेको बमजनको आश्रमका हरेक गतिविधी निगरानी गरिरहेको छ।

िजिल्ला प्रहरी कार्यालय सिन्धुलीले खटाएका प्रहरी अधिकारीहरुले अहिले सिन्धुली आश्रममा रहेका बमजनको निगरानी गरिरहेका हुन्।

आश्रमबाट आफ्ना अनुयायी बेपत्ता बनाएको आरोप लागेका र बलात्कारका मुद्दामा समेत तानिएका बमजनमाथि कारवाही गर्न दबाब बढिरहेका बेला उनी सिन्धुलीको आश्रममा पुगेका हुन्।

सिन्धुली प्रहरी प्रमुख रामेश्वर यादवले आफ्नो जिल्लामा कुनै उजुरी नभएकाले हाललाई माथिको आदेशमा आश्रम र बमजनको निगरानी गरिरहेको बताए।

‘उजुरी परेका जिल्लाले उपस्थित गराउन भने तुरुन्त पठाउन सक्ने व्यवस्था गरेका छौं, आश्रम र व्यक्ति हाम्रो निगरानीमा छन्’, यादवले नेपालखबरसँग टेलिफोनमा भने।

बमजनको आश्रमबाट दुई महिला र दुई पुरुष हराएको निवेदन तीन वटा जिल्लामा परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो। प्रहरी प्रधान कार्यालय आफैले यो अनुसन्धानको अगुवाई गरिरहेको छ भने केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पनि छुट्टै अनुसन्धान गरिरहेको छ।

‘सम्बन्धित जिल्ला र केन्द्रबाट अनुसन्धान भइरहेको छ, हामी केही दिनमै वास्तविकता सार्वजनिक गर्नेछौं,’ प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले काठमाडौंमा नेपालखबरसँग भने, ‘हामीले मिडियामा आएका विषय समेत नोटिसमा राखेका छौं।’

गृह मन्त्रालयले बमजनका देशभर रहेका आश्रम र सम्पर्क केन्द्रहरूलाई अनुसन्धानको दायरामा ल्याउने तयारी गरिरहेको छ। मन्त्रालयले बमजनको आश्रमबाट केही व्यक्ति हराएको उजुरी परेपछि पाँच जिल्लामा रहेका आश्रमलाई अनुसन्धानको दायरामा राखेर कारवाही अघि बढाएको हो। सिन्धुपाल्चोक, सिन्धुली र बाराका आश्रमबाट चारजना अनुयायी गायब भएपछि बमजन अनुसन्धानमा तानिएका हुन्।

गृहमन्त्रालय प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीका अनुसार बारालाई केन्द्रमा राख्दै बमजनको आश्रमबाट हराएका व्यक्तिको खोजी भइरहेको हो।

बमजनको आश्रमबाट २०६९ देखि २०७२ को अवधीमा चारजना अनुयायी हराएको निवेदन तीन जिल्लाका प्रहरी कार्यालयमा दर्ता छ। बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाईबा र फुलमाया रुम्बा ९पासाङ, नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाउने चिनिमायाँ तामाङ हराएको भन्दै खोजिदिन आफन्तले निवेदन दिएका छन्।

‘हामीले बुझ्ने काम गरिरहेका छौं, स्थानीय प्रहरी सक्रिय छ,’ बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले भने, ‘बारा र मकवानपुरमा दर्ता निवेदनका विषयमा यहाँबाट अनुसन्धान भइरहेको छ।’

प्रहरी प्रवक्ता सुवेदीले हालसम्म तीन जिल्लामा दुई महिला र दुई पुरुष हराएको निवेदन परेको बताए। उनले निवेदन परेका जिल्ला प्रहरीले आवश्यक कारवाही र अनुसन्धान गर्ने बताए।

प्रहरी प्रधान कार्यालयले तपस्वी भनिने बमजनका विभिन्न जिल्लामा रहेका आश्रम, आश्रमका मुख्य व्यक्ति र बमजन निकटहरुको विवरण मगाएर अनुसन्धान गरिरहेको छ।