कसले चलायो वीरगन्ज शहरमा डोजर ?

गुगलपाटी संवाददाता वीरगन्ज
१८ चैत्र २०७४ ११:०२

वर्षौ देखि अवैध तरिकाले अतिक्रमण गरेर निर्माण गरिएको घर तथा टहराहरु वीरगंज महानगरपालिका कायर्लयले भत्काएको छ । महानगरका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीको निर्देशनमा आइतबार कार्यालयले महानगरपालिकाको वडा नम्बर ७ रेल्वे रोडमा अवैध तरिकाले निर्मित घर तथा टहराहरु भत्काउने कार्य सुरु गरेको छ ।

वीरगंज महानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत सुमन श्रेष्ठ र मझौला एकीकृत शहरी वातावरणीय सुधार आयोजनाका प्रवन्धक शैलेन्द्र श्रेष्ठको संयुक्त नेतृत्वमा गएको टोलिले रेल्वे रोड स्थित दुर्गा हलको पश्चिम तर्फ रहेको खाली जग्गा देखि शिवशंकर मन्दिर सम्म अवैध तरिकाले अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहराहरु भत्काइएको छ ।

महानगरपालिकाले पटक पटक विभिन्न माध्यमहरुबाट सूचना जारि गर्दै अतिक्रमित संरचनाहरु आफै हटाउन आह्वान गर्दा पनि स्थानीयहरुले नटेरे पछि महानगरपालिका कार्यालयले वडा प्रहरी कार्यालय विर्ताको सहयोगमा आज आफै डोजर लगाई हटाएको वरिष्ठ अधिकृत सुमन श्रेठले जानकारी दिए ।

मझौला एकीकृत शहरी वातावरणीय सुधार आयोजनाका अन्तर्गत अन्डरग्राउण्ड नाला निर्माण गर्न आज ५० भन्दा बढि अतिक्रमित संरचनाहरु हटाइएको आयोजनाका प्रवन्धक शैलेन्द्र श्रेष्ठले बताए । उहाँले आजबाट नाला निर्माण कार्यको लागि कन्ट्रयाकटर कम्पनिलाई साइट क्लियरेन्स दीईएको र निर्माण कार्य शोमबारबाट प्रारम्भ हुने बताए ।