वडा सचिवले मदिरा पिएर कार्यालय गएपछि
गुगलपाटी संवाददाताधनगढी – धनगढी उपमहानगरपालिका ६को वडा कार्यालयमा सोमबार १० बजेपछि निकै घुइँचो थियो। केही सेवाग्रही थिए। त्यो भन्दा बढी वडा सचिवको चर्तिकला हेर्नेहरूको भीड थियो। वडा सचिव करुणाकर जोशी बोल्नै नसक्ने गरी रक्सी खाएर लठ्ठिएका थिए। उनको हाउभाउ हेरेर सेवाग्रहीहरू पनि खीतिती हास्दै थिए।
वडासचिव जोशीको यस्तो हर्कत सोमबार पहिलो पटक मात्रै भएको भने होइन। उनी नियमित मदिरा सेवन गरेर कार्यालय आउने गरेको स्थानीय बताउँछन्। वडा कार्यालयका हाकिम नै मदिरामा यसरी मस्त भएपछि सेवाग्राहीलाई सास्ती नहुने त कुरै भएन। सधै जस्तो सोमबार बिहान पनि कार्यालय समय अगावै रक्सी खाएर कार्यालयमा आएका जोशीले सेवाग्राहीको काम नै नगरी दिएपछि कतिपय सेवाग्राहीहरू रित्तै घर फर्किएका थिए। कतिपय वडाध्यलाई कुरेर कार्यालय परिसरमै बसेका थिए। वडाध्यक्ष भने विद्युतका पोलको सर्बेक्षणकाे कामका लागि फिल्डमा थिए। वडामा सिफारिस लिन पुगेका धनगढी उपमहानगरपालिका शिव कुँवरले वडा कार्यालयका सचिव मदिराले लठ्ठ भएपछि आफ्नो काम नभएकोे बताए।
‘१० बजे आउनुहाेस् तपाइँको काम हुन्छ भन्नुभएको थियो। म काम गराउँन आए। अध्यक्ष हुनुहुन्न वडा सचिवको हाल यस्तो छ’ जोशीलाई देखाउँदै कुँवरले भने। सधैँ जसो रक्सी खाएर कार्यालयमा आउने जोशीले आफूहरूको कामनै नगर्ने गरेको भन्दै वडा ६ का स्थानीयले तत्काल सचिवलाई कारवाही माग गरेका छन्। यस्ता कर्मचारीलाई कारबाही नभए जनताले थप समस्या झेल्नु पर्ने धनगढीकै स्थानीय नरबहादुर महतले बताए । उनले भने,‘सामान्य काम लिएर हामी टाडाबाट कार्यालय पुग्छौँ। तर हाकिमको ताल भने यस्तो हुन्छ। हामीले तिरेको करबाट तलब खाएकाहरूले हाम्रै काम गर्न आलटाल गर्छन्।
त्यसैमाथि काम गर्ने समयमा रक्सी धोक्छन्। यस्तालाई त कारबाही हुनैपर्छ।’ वडाध्यक्ष बिहानै फिल्डमा निस्किएकाे माैका पारेर वडा सचिवले रक्सी खाएर काम नगरिदिएपछि समस्या भएको उनले गुनासो गरे। साेमबार वडाध्यक्ष भागिराम चौधरी फिल्डबाट फर्किए पनि केही सेवाग्राहीको काम भएको थियो। वडाध्यक्ष त फर्किए तर वडा सचिवको हाल भने फेरिएन। पटकपटक वडा सचिवलाई कार्यालय समयमा मदिरा नखान वडा अध्यक्षले निर्देशन दिएका रहेछन्। तर वडा सचिवले टेरेनन्।
वडाध्यक्षले भने,‘मैले धेरै पटक पत्र पठाएर निर्देशन दिइसकेकाे छु। त्यसले पनि नलागेपछि प्रहरीलाई आफै बोलाएर १ दिन १ रात थुन्न लगाएको थिएँ। तर त्यति गर्दा पनि उहाँ सुध्रिनु भएन।’ उनले कारवाहीका लागि सिफरिस गरे पनि कर्मचारी अभावमा त्यही वडासचिव राखिराख्नु परेको पनि बताए। जनताको सेवाका लागि भनेर कार्यालयमा खटिएका कर्मचारीले कार्यसम्पादनको सट्टा उल्टै सेवाग्राहीलाई सास्ती हुने गरी गरेको हर्कतप्रति जनप्रतिनिधि पनि मुकदर्शक भएका छन्। जनाताकै पसिनाको कामाइबाट सेवासुविधा बुझेका राष्ट्रसेवक कर्मचारीको हर्कतविरुद्ध सम्बन्धित निकायले तत्काल पहलकदमी गर्नुपर्ने स्थानीय सर्वसाधारण नागरिकको माग छ।