सीसी क्यामेरा मर्मत गर्न मउवा संघको चासो, बैंकर्सले गरे ४ लाख २५ हजार सहयोग
गुगलपाटी संवाददाताहेटौंडा–भूकम्प र चट्याङका कारण बिग्रिएका हेटौंडा बजार क्षेत्रका सीसी क्यामेरा मर्मत र थप क्यामेरा जडानको लागि मकवानपुर उद्योग वाणिज्य संघदे चासो दिएको छ ।
यसअघि ६ वर्षअघि संघकै अगुवाईमा हेटौंडा बजार क्षेत्रमा ३८ वटा सीसी क्यामेरा जडान गरिएको थियो । जसमध्ये हाल २ वटा मात्र सञ्चालनमा छन् । सीसी क्यामेरा मर्मत गर्ने र थप ४० वटा क्यामेरा थप गर्ने लक्ष्यका साथ मकवानपुर उद्योग वाणिज्य संघ लागिपरेको छ । मर्मत र ४० वटा थप गर्न २३ लाख रुपैयाँ भन्दा बढी लाग्ने अनुमान गरिएको संघका अध्यक्ष कृष्ण कटुवालले बताए ।
सीसी क्यामेरा मर्मत र नयाँ थप गर्नको लागि हेटौंडा बैंकर्स क्लबले मकवानपुर उद्योग वाणिज्य संघलाई सहयोग हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच बैंकर्स क्लबले ४ लाख २५ हजार रुपैयाँको चेक मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललाई हस्तान्तरण गरेका हुन् । हेटौंडामा रहेका र बैंकर्स क्लबसँग आवद्ध रहेका २२ वटा बैंकले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आवश्यक सहयोग र समन्वयको लागि उपमहानगर तत्पर रहेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले बजारमा सिसि क्यामेरा जडान हुँदा प्रहरीलाई पनि अपराधि पत्ता लगाउन सहज हुने बताए ।
प्रहरी कार्यालयबाट आवश्यक पर्ने भौतिक सहयोगको लागि जिल्ला प्रहरी कार्यालय तयार रहेको उनले बताए । अपराधमुक्त सहरको रुपमा विकास गर्न प्रहरी सदैव तत्पर रहेको उनको धारणा थियो ।