बीरबहादुरले मागे जीवनको भीख, भने– तपाईंहरुले सहयोग गरे म बाँच्थेँ होला
गुगलपाटी संवाददाताहेटौंडा– कानसम्म छोप्ने गरी कानेटोपी, घाँटीमा मफलर उनेका, कालो हुक र खैरो टाउजरमा न्याउरो अनुहारका साथ पत्रकारअघि उभिए एक २६ वर्षीय युवक । उनको आँखा सुन्निएको जस्तो देखिन्थ्यो भने अनुहार निकै मलिन थियो । आमाबुबा र पूर्व सांसद राजाराम स्याङ्तानको साथमा आफ्नो पीडा पोख्न उभिएका ती युवक थिए मनहरी गाउँपालि का–३ ठोडेका २६ वर्षीय मृगौलापीडित बीरबहादुर वाइबा ।
न्युज क्लब नेपाल मकवानपुरले बीरबहादुर र उनको परिवारलाई पत्रकारसँग भेट्ने अवसर दिलाइदिएको थियो । पूर्वसांसद राजाराम स्याङ्तानको साथ लागेर उनीहरु मंगलबार पत्रकारसँग आफ्ना कुरा राख्न अर्थात आफ्नो जीवनको भीख माग्न आएका थिए ।
एकवर्षदेखि दुवै मृगौलाले काम नगरेपछि बीरबहादुर अहिले डाइलासिस गराइरहेका छन् । मृगौलाको उपचारको लागि हालसम्म ९ लाख भन्दा बढी खर्च गरिसकेका बीरबहादुर र उनका परिवार अब भने थाकेका छन् ।
कुनै दाताबाट आर्थिक सहयोग पाए आफ्नो जीवन बाँँच्ने भन्दै उनले सबैलाई आफ्नो ज्यान बचाइदिन आग्रह गरे । ‘डाक्टरहरुले मृगौला नै फेर्नुपर्छ भन्या छन्, जग्गा जमिन बेचेर उपचार गरौं भने पनि २ कट्ठा ऐलानी बारीभन्दा अरु केही छैन, म त उपचार नै नपाएर मर्ने भएँ ।’ बीरबहादुरले गहभरी आँसु पार्दै पीडा पाखे ।
२६ वर्षीय बीरबहादुर एक्ला पनि होइनन्, एक श्रीमती र दुई छोराछोरी उनमै आश्रित छन् । आफैं जीवनमरणको दोसाँधमा रहँदा उनलाई आफ्नोसँगसँगै छोराछोरी र श्रीमतीको पनि चिन्ता छ ।
आफूले ऋण गरेरै भए पनि ९ लाख सम्म खर्च गरेर छोराको उपचार गरेको बताउने बीरबहादुरका बुबा आशाकाजीले अब आफूसँग यसभन्दा बढी खर्च गर्न सक्ने अवस्था नरहेको सुनाए । ‘पत्रकारज्यूहरुले देश विदेशमा रहेका दाजूभाईलाई सहयोगको लागि भनिदिनुहुन्छ भन्ने आशा राखेर हामी यहाँ आएका हौं, हाम्रो मेरो छोराको जीवन बचाउन सहयोग गरिदिनुहोस्, ’ आशाकाजीले पत्रकार सम्मेलनमा भने ।
पत्रकार सम्मेलनमा बोल्दै संविधानसभाका सांसद राजाराम स्याङ्तानले एक गरिव तथा पैसाकै कारण उपचार गर्न नसकेको ब्यक्तिलाई सहयोग गर्नको लागि सम्पूणमा आग्रह गरे । उनले देश तथा विदेशमा बस्ने नेपालीहरुमा वाईवाको ज्यान बचाउन सकेकोजत्ति रकम सहयोगको लागि आग्रह समेत गरेका छन् ।
वाईवालाई सहयोग गर्न चाहानेहरुले आशाकाजी वाईवाको नाममा रहेको नेपाल एसविआई बैंकको खाता नम्बर २००१५२४०७०२१९६ मा रकम जम्मा गर्न सकिनेछ ।