वाणिज्य बैंकद्धारा सहुलियत कर्जा सुरु

गुगलपाटी संवाददाता
२७ पुष २०७५ ००:२३

हेटौंडा– राष्ट्रिय वाणिज्य बैंक हेटौंडा शाखाले सहुलियत कर्जा कार्यक्रम सुरु गरेको छ । पुस २३ गते सोमबारबाट राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा कार्यक्रम कार्यान्वयन सुरु गरेको हो ।

सरकारी स्वामित्वको यस बैंकले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको सहुलियत कर्जा कार्यक्रमलाई अभियानको रूपमा लैजाने बताएको छ । सरकारले घोषणा गरेका उद्यमशीलता विकास कार्यक्रममा सरकारले पाँच प्रतिशत बिन्दुले ब्याज अनुदान दिन्छ ।

यस्तो कर्जा सबै वाणिज्य बैंकबाट प्राप्त गर्न सकिने भएपनि राष्ट्रिय वाणिज्य बैंकबाट सबैभन्दा सस्तोमा प्राप्त गर्न सकिन्छ ।

व्यावसायिक कृषि कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केकालाई कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदायका लागि व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्प पीडितका लागि आवास कर्जा जस्ता बिना धितो कर्जाको प्रकृतिअनुसार तीनलाख देखि अधिकतम १० लाखसम्म व्यक्तिगत र सामूहिक जमानीमा ऋण दिने व्यवस्था गरिएको छ ।