रुदानेको ८५ औं जन्मजयन्तीः दर्शनलाई व्यवहारमा उतार्न युवालाई आग्रह
गुगलपाटी संवाददाताहेटौंडा– थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्ट (रुदाने) को दर्शनलाई व्यवहारमा उतारे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले बताएका छन् ।
विष्टको दर्शनलाई कार्यान्वयनमा ल्याउनु भन्दापनि उनको चर्चा गर्नेहरुको मात्र भिड बढिरहेको सन्दर्भमा रुपचन्द्र विष्ट सम्झाउने कार्यक्रमप्रति युवाहरुको सक्रियता बढ्नु सकारात्मक भएको बताए ।
रुपचन्द्र विष्टको ८५ औं जन्मजयन्ती तथा चौथो थाहा दिवसको अवसरमा थाहा नगरपालिकाको समन्वयमा फरक सोच अभियानले मकवानपुरको थाहा नगरपालिकामा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
कार्यक्रममा रुपचन्द्र विस्ट स्मारक समितिका केन्द्रीय अध्यक्ष तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले रुपचन्द्र विष्टलाई सम्झने खास दिनमा अल्मिल्लिनू भन्दा पनि वर्षैभरी उनले देखाएको बाटोमा लाग्न आग्रह गरे ।
फरक सोचका संयोजक यादवजंग रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रदेश सभा सांसद कुमारी मोक्तान, कार्यक्रममा प्रेम बहादुर पुलामी ‘छिन्तु’, थाहानगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, नेकपाका नेता बलराम बल लगायतले रुपचन्द्र विष्टको योगदानको विषयमा चर्चा गरेका थिए ।