निर्मला हत्या प्रकरण : रगत दिँदा दुर्गादेवीलाई पतिले किन कुटे
गुगलपाटी संवाददाताकैलाली – निर्मला पन्त हत्या प्रकरणमा परिवारबीच नै विवाद देखिएको छ। निर्मलाको भेजिनल स्वाब नक्कली भएको आशंका बढेपछि त्यसलाई किनारा लगाउन आमा दुर्गादेवीले डिएनए परीक्षणका लागि रगतको नमुना दिएकी छन् भने उनका पति यज्ञराजले रगत किन दिएको भन्दै पत्नीमाथि कुटपिट गरेका छन्।
छोरीले न्याय पाओस् भनेर भेजिनल स्वाबमाथिको शंका निवारण गर्न आफूले रगत दिएको, त्यही निहुँमा पतिले कुटपिट गरेको दुर्गादेवीले बताएकी छन्। पतिले घाँटी च्यापेर मार्न खोजेपछि भागेर ज्यान बचाएको उनको भनाइ छ। ‘जेठी छोरी मनिषा बिहानै ट्युसन पढ्न गएकी थिइन्। कान्छो छोरी पनि ट्युसन जाने तयारीमा थिइन्।
बिहान साढे ७ बजेतिर कुकरमा भात बसालेकी थिएँ। एक्कासि उहाँ (पति) आएर मलाई नसोधी किन रगत दिएको मारिदिन्छु भन्दै घाँटी च्याप्न थाल्नुभयो’, दुर्गादेवीले भनिन्, ‘भात चुलोमै छोडी ज्यान बचाउन भागें। पछि भात, कुकर दुवै जलेछन्।’ उनले छोरीको हत्यारा पत्ता लागोस् र उसले न्याय पाओस् भनेर आफूले रगतको नमुना दिएको बताइन्।
पतिपत्नीबीच राहत रकममा पनि किचलो बढेको छ। तीनवटै सरकारले राहतस्वरुप उपलब्ध गराएको १८ लाख बुझ्न लागेकी भनेर पनि पति धम्क्याएको दुर्गादेवीले बताइन्। ‘त्यो रकम बुझिस् भने कि तँलाई मारिदिन्छु कि म मर्छु भनेर धम्क्याउनुभयो’, उनले भनिन्। आफूसँग भएका दुईवटी छोरीले दुःख नपाऊन् भन्ने आफ्नो चाहना भएको उनले बताइन्। आजको नागरिक दैनिकमा समाचार छ ।