बुद्धको मूर्ति चोर्ने वडा अध्यक्ष प्रहरीको फन्दामा
गुगलपाटी संवाददाताडोल्पाको एक जना वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा काठमाडौंमा पक्राउ परेका छन् ।
डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई मूर्ति चोरीको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो।
शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाको बुद्धमूर्ति उनले चोरेको प्रहरीको दाबी छ । गुरुङ स्थानीय तहको निर्वाचनमा वडा नम्बर ५ को अध्यक्षमा स्वतन्त्रबाट विजयी भएका थिए। तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि उनी नेकपामा प्रवेश गरेका थिए।
सोही आरोपमा प्रहरीले यसअघि वडाध्यक्ष गुरुङका साथै शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे–फोक्सुण्डो गाउँपालिकाका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई पक्राउ गरिसकेको छ।
उनीहरूलाई पनि सिआइबीले काठमाडौंको बौद्धबाटै पक्राउ गरेको थियो ।राहापगुम्बाबाट ४२ थान प्राचीन बौद्धमूर्ति आठ वर्षअघि नै चोरी भएको भए पनि गत असोजको अन्तिम साता मात्रै स्थानीयले थाहा पाएका थिए।