महिलालाई अभद्र व्यवहार गर्ने शिक्षक नेता २४ घण्टा प्रहरी नियन्त्रणमा
गुगलपाटी संवाददाताहेटौंडा/मादक पदार्थ सेवन गरी महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा मकवानपुरका तत्कालीन एमाले निकट शिक्षक संगठनका अध्यक्ष र उपाध्यक्षले २४ घण्टाको प्रहरी कारबाही भोगेका छन् ।
बागमती गाउँपालिका वडा नम्बर ५ ज्यामिरेमा मादक पदार्थ सेवन गरी महिलालाई अपशव्द बोल्ने मकवानपुरका शिक्षक नेताले माफी मागेपछि उनीहरुलाई शनिबार दिउँसो छाडिएको हो । तत्कालीन नेकपा एमाले निकट शिक्षक संगठनका जिल्ला अध्यक्ष श्रीराम दाहाल र उपाध्यक्ष किशोर वर्तौलाले शुक्रबार राती महिलालाई अपशब्द प्रयोग गर्दै गालिगलौज गरेका थिए । रातभर प्रहरी नियन्त्रणमा रहेका उनीहरु माफी मागेपछि मिलापत्र गरी छुटेको स्थानीय पंकज थापा मगरले जानकारी दिए ।
मादक पदार्थ सेवन गरी शिक्षक संगठनका जिल्ला अध्यक्ष दाहाल र उपाध्यक्ष वर्तौलाले देवकी माविका अध्यक्ष जानकी जर्गा र उनका श्रीमान रुपकराज राना मगरलाई राति १० बजे गालीगलौज र धाकधम्की दिएको स्थानीयको भनाइ छ । उनीहरुलाईस्थानीयले राती र्नै नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । दुबैले इलाका प्रहरी चौकी फापरबारीमा गल्ती भएको स्विकारेर माफी मागेपछि शनिबार दिउँसो छाडिएको थियो ।
बौद्धिक क्षेत्रका व्यक्तिबाट यस्तो गतिविधि भएको भन्दै स्थानीयले आक्रोश पोखेका थिए । शिक्षकका नेताहरुको यस्तो गलत व्यहारका कारण लज्जित हुनु परेको स्थानीय शिक्षकहरुको भनाई छ ।