चार सय गोल पुरा गर्ने पहिलो खेलाडी मेस्सी

गुगलपाटी संवाददाता काठमाडौ
३० पुष २०७५ ०७:०६

अर्जेन्टिनी स्टार लियोनल मेस्सीले स्पेनिस ला लिगा फुटबलमा आफ्नो चार सय गोल पूरा गरेका छन्। लिग लिडर बार्सिलोनाले सोमबार बिहान खेलिएको खेलमा प्रतिद्वन्द्वी इबरलाई हराउँदा मेस्सीले यो सफलता हात पारेका हुन्। इबरबिरुद्ध मेस्सीले एक गोल गरेका थिए । मेस्सी ला लिगाका सर्वाधिक गोलकर्ता हुन्। ३१ वर्षीय मेस्सीले ला लिगामा बार्सिलोनाका लागि चार सय ३५ खेल खेल्दै चार सय गोल गरेका हुन् ।

मेस्सी ला लिगामा चार सय गोल पूरा गर्ने पहिलो खेलाडी पनि हुन्। उनी युरोपका चर्चित पाँचवटा लिगमा चार सय वा सोभन्दा बढी गोलको कोशे ढुंगा पार गर्ने दोस्रो खेलाडी पनि बनेका छन्। यी पाँच लिगमा मेस्सीभन्दा बढी गोल क्रिस्टियोना रोनाल्डोले गरेका छन्। पोर्चुगिज खेलाडी रोनाल्डोले युरोपका विभिन्न लिगमा पाँच सय सात खेल खेल्दै चार सय नौ गोल गरेका छन् । ३३ वर्षीय रोनाल्डोले इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरिए खेलेर चार सय नौ गोल गरेका हुन्। रोनाल्डो हाल इटालियन सिरिए क्लब युभेन्ट्सबाट ब्यवसायिक फुटबल खेल्छन्।

यद्दपि, मेस्सीले रोनाल्डोभन्दा ६३ खेल चाँडो चार सय गोल पूरा गरेका हुन् । स्पेनिस ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेस्सीभन्दा पछाडि रोनाल्डो छन्। ला लिगामा रोनाल्डोले रियल म्याड्रिडका लागि दुई सय ९२ खेल खेलेर तीन सय ११ गोल गरेका थिए। सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका टेल्मो जाराले दुई सय ५१ गोल गरेका छन्।

ला लिगामा मेस्सीसंग अन्य कीर्तिमान पनि जोडिएका छन्। ला लिगा खेलेका विभिन्न २९ वटा टोलीले हालसम्म गरेको गोलभन्दा मेस्सीले एक्लैले गरेको गोल बढी हुन्छ। यसैगरी मेस्सीले ला लिगामा हालसम्म ३७ वटा क्लबविरुद्घ गोल गरेका छन्। ला लिगामा मेस्सी वाहेक अन्य खेलाडीले यतिधेरै क्लबविरुद्घ गोल गर्न सकेको छैन। उनले ला लिगामा सेभिलविरुद्घ सबैभन्दा बढी २४ खेलमा २५ गोल गरेका छन्।