विभिन्न सन्देशमुलक कार्यक्रम गरी मनाईयो २१ औँ भुकम्प सुरक्षा दिवस

गुगलपाटी संवाददाता हेटौंडा
२ माघ २०७५ ०६:२०

२१ औं भुकम्प सुरक्षा दिवसको अवसरमा आज प्रदेश नं. ३ को राजधानी हेटौँडामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरकोे आयोजनामा “विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानिय सरकार” भन्ने नाराका साथमा कार्यक्रम गरी मनाइएको हो ।

कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ कार्यालय प्रमुख सोमराज तिमल्सिनाले भुकम्पको परिचय, गोरखा भुकम्प २०७२ र असर, नेपालमा भुकम्प भइरहने कारण, मकवानपुर जिल्लामा भएको पुनर्निर्माण सम्बन्धी विवरण, भुकम्पीय जोखिम न्युनिकरणबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ३ का मुख्यमन्त्री तथा मन्त्री परिषद्का प्रमुख सचिव आनन्दराज ढकाल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुका सहभागिता रहेको थियो ।