बम्जनको आश्रमबाट प्रहरी कुकुरले दियो हत्याको संकेत

गुगलपाटी संवाददाता
३ माघ २०७५ ०४:२३

सिन्धुपाल्चोक–  तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 प्रहरीले बम्जनको आश्रमबाट हराएका ब्यक्तिको खोजीका लागि तालिमप्राप्त कुकुर प्रयोग गरेको थियो। केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलबाट खटिएका ‘सर्च एण्ड रेस्क्यू’ मा प्रयोग हुने चारवटा कुकुरमध्ये एउटाले आश्रमको एक स्थानमा संकेत गरेको थियो।

तालिमप्राप्त कुकुरले त्यो स्थान छोडन नमानेपछि प्रहरी टोलीले त्यहाँ उत्खन्न गर्यो। तर उत्खन्नमा भेटिएको भनिएको वस्तुको थप परिक्षण भइरहेकाले प्रहरीले यसलाई अहिले गोप्य नै राख्न चाहेको छ।

प्रहरीले काठमाडौंबाट वर्षौं पुरानो शब उत्खन्नमा सहयोगी भएका जर्मन सेफर्ड र ल्याबराडोर जातीका चार कुकुर परिचालन गरेको हो। तालिम प्राप्त यी कुकुरले हराएका ब्यक्तिको नङ, कपाल र कपडा सुँघेर शब गाडेको स्थान पत्ता लगाउन सक्छन्।

‘अनुसन्धानमा खटिएका कुकुरले आश्रमका केही स्थानमा संकेत गरेका थिए,’ एक प्रहरी अधिकारीले भने, ‘केही वस्तुको परिक्षण र थप उत्खननपछि थप खुलासा गर्ने छौं।’

ती प्रहरी अधिकारीका अनुसार पहिलो चरणमा बम्जनको आश्रमबाट बेपत्ता भएका मकवानपुरका सञ्चलाल वाईबामा केन्द्रीत भएर अनुसन्धान अघि बढेको छ। उनी सिन्धुपाल्चोक आश्रमबाटै हराएको भन्ने परिवारको दाबीपछि अनुसन्धान उनमै केन्द्रीत गरिएको हो।

सिन्धुपाल्चोक प्रहरीले सिन्धुली बम्जनको आश्रमसम्म पुगेर अनुसन्धान र सोधपुछ अघि बढाएको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यक पर्दा केन्द्रीय अनुसन्धान ब्यूरो र केन्द्रका अन्य प्रहरी युनिटले सिन्धुपाल्चोक प्रहरीलाई सहयोग गरिरहेका छन्।

‘एकजना डिएसपीको नेतृत्वमा अनुसन्धान टोली बनेको छ,’ प्रहरीका अर्का एक अधिकारीले  भने, ‘हराएका ब्यक्तिलाई आश्रममै हत्या गरेर शब गाडिएको वा जलाएको आशंका छ।’

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले डिएसपीको कमाण्डमा ४५ प्रहरीलाई खटाएर बम्जनको बाँडेगाउँमा रहेको आश्रममा छानबिन गरेको थियो। प्रहरीले आश्रमबाट केही शंकास्पद वस्तु संकलन गरेर विधि विज्ञान प्रयोगशालामा पनि पठाइसकेको छ।

प्रहरीले ८० रोपनी क्षेत्रफलमा फैलिएको बाँडेगाउँ आश्रमका साथै आसपासका ५ सय मिटर क्षेत्रफलमा खोजी गरेको थियो।

‘बम्जनसँगै रहेका र निकट भएका ब्यक्तिहरुको वर्षौंदेखि अत्तोपत्तो छैन,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘आश्रममा रहेका अनुयायीको बयानमा समेत भिन्नता छ।’