प्रतिनिधिसभामा प्रधानमन्त्री र सांसदबीच आज प्रश्नोत्तर हुने
गुगलपाटी संवाददाताकाठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधि सभाका सांसदहरुबीच आज संसद भवनमा प्रश्नोत्तर हुने भएको छ।
प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आज शुक्रबारका लागि तय गरिएको हो ।
केही दिनअघि प्रम ओलीले संसदमा सम्बोधन गरेपछि प्रश्न राख्न पाउनुपर्ने माग गर्दै कांग्रेसका सांसदहरुले संसद अवरुद्ध पारेका थिए ।
प्रतिनिधि सभा नियमावली अनुसार प्रमले बोलेपछि आफूले पनि प्रश्न सोध्न पाउनुपर्नेमा त्यो अवसर नदिएको भन्दै उनीहरुले सभामुख कृष्णबहादुर महराको समेत विरोध गरेका थिए ।
प्रतिनिधि सभा नियमावली र कांग्रेस सांसदहरुको माग बमोजिम आज अपरान्ह ४ बजेका लागि प्रश्नोत्तर कार्यक्रम राखिएको हो । शनिबार स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा जान लागेका प्रधानमन्त्री ओलीले आज नै आफ्नो भ्रमणबारे संसदलाई जानकारी पनि गराउने भएका छन् ।