अलपत्र कुखरेनी पुल निर्माणको काम
गुगलपाटी संवाददाता हेटौंडाहिँउदमा पुलको त्यत्ति धेरै आवश्यकता महशुस नभएपनि बर्खामा पुल नहुँदा स्थानीयलाई बजारसम्म आउन र बजारबाट घरसम्म जान निकै सास्ती हुने गरेको छ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ र १३ लाई जोड्ने कुखरेनी खोलाको पुल अझैं निर्माण सम्पन्न हुन सकेको छैन । गएको बर्खामा कुखरेनी खोलामा आएको बाढीको कारण हेटौंडा १३ का प्रेमबहादुर लामाको ११ बर्षीय छोरा रोजनलाई समयमानै अस्पताल ल्याउन असंभव भएपछि उनको मृत्यु भएको थियो ।
विकासको पुर्वाधार बाटोको स्तरउन्नतीको लागि पनि पुल निर्माण अतिआवश्यक देखिन्छ । तर कुखरेनी खोलामा पक्की पुल निर्माणको लागि जिम्मा पाएको ठेकेदार कम्पनी नागार्जुन शंकरमाली जेभीको चरम लापरवाहीका कारण पुल निर्माणको काम अलपत्र परेको हो ।
गत असार मसान्तमानै सम्पन्न हुनुपर्ने पुलको काम अहिलेसम्म २० प्रतिशत पनि सम्पन्न हुन सकेको छैन । ठेकेदार कम्पनी आफुसंग पुल निर्माणको लागि पैसा नभएकोले पुल निर्माण गर्न नसकेको बताउँदै आएको छ । आफुहरुसंग पैसा नभएको र प्रदेश सरकारले बजेट कहिले दिने टुङ्गो नभएको भन्दै ठेकेदार कम्पनी पन्छिने काम गरिरहेको छ ।
वि सं २०७३ माघ १२ गते औपचारिक रुपमा पुल निर्माण कार्यको विधिवत सुरुवात गरिएको थियो । २०७४ असोज २१ गते पुरा हुने गरी निर्माण सुरुवात गरिएको पुल २०७५ पुसमा समेत निर्माण सम्पन्न भएन । निर्माणको जिम्मा पाएको अवधी हेर्ने हो भने प्रदेश सरकारको स्थापना अधिनै पुल निर्माण सकिनुपर्ने देखिन्छ ।
जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालले पुल निर्माणको विषयमा पहिले आफुहरु सरोकारवाला भएता पनि अहिले प्रदेश सरकारलाई उक्त जिम्मेवारी प्रत्यायोजन भएकोले प्रदेश सरकारलेनै सो विषयमा चिन्ता लिनुपर्ने बताएका छन् ।
प्रदेश सरकारले चासो देखाउनुपर्छ स् स्थानीय जनप्रतिनिधि
पुल निर्माणको विषयमा हेटौंडा १२ र १३ का स्थानीय जनप्रतिनिधिहरु प्रदेश सरकारले चासो देखाउनुपर्नेमा जोड दिन्छन् । प्रदेश सरकारले चासो देखाएमात्र उक्त पुल निर्माण हुने उनीहरुको भनाई छ ।
आफुहरुले पटक पटक ठेकेदार कम्पनीलाई पुल निर्माणको लागि झकझकाएपनि ठेकेदार कम्पनीले प्रदेश सरकारले बजेट व्यवस्थापन गरिदिनुपर्ने भन्दै आलटाल गरेपछि आफुहरु प्रदेश सरकारको आशमा बसेको उनीहरुको भनाई छ ।
तत्कालिन जिल्ला विकास समितिले पुल निर्माणको लागि ६ महिना समय थप गरेको छ । यस अघि १०३ मिटर लम्बाई र ९ मिटर ९० सेन्टीमिटर चौडाईको पुल भनेर नक्साङ्कन गरिए पनि त्यसमा प्राविधिक त्रुटि भएको र अहिले १०३ मिटरको साटो ११० मिटर लम्बाई भएको नयाँ नक्सा बनेको स्रोतको जानकारी छ ।