७७ करोडभन्दा बढी ईमेल आईडी ह्याक

गुगलपाटी संवाददाता काठमाडौं
४ माघ २०७५ १०:४०

यस वर्षको सबभन्दा ठूलो डेटा ब्रीच सार्वजनिक भएको छ । ७७ करोडभन्दा बढी ईमेल आईडी र पासवर्ड सार्वजनिक गरिएका छन् । यी सबै डेटा फाइल शेयरिङ वेबसाइटमा अप्लोड गरिएका छन् । फाइल साइज ८७ जीबी छ ।


आईडी ह्याक भयो भन्नाले तपाईंको आईडी अर्काले प्रयोग गरेको भन्ने अर्थ लाग्दैन । तर तपाईंको आईडी र पासवर्ड कसैसँग छ भन्ने अर्थ चाहिँ लाग्छ । त्यसको गलत प्रयोग हुने सम्भावना पनि रहन्छ ।

अस्ट्रेलियन साइबर सेक्युरिटी रिसर्चर ट्रोय हन्टले डिजिटल स्पेसमा यसको खुलासा गरेपछि हंगामा मच्चिएको छ । करोडौं मानिसको ईमेल आईडी र पासवर्ड मेगा नामक फाइल शेयरिङ वेबसाइटमा अप्लोड गरिएको र पछि हटाइएको उसले जानकारी दियो ।

यी डेटा १२ हजार फाइलमा छन् । डेटा कहाँबाट आए भन्ने प्रस्ट छैन अनि कसैले पनि यसको जिम्मेवारी लिएको छैन ।

यो ह्याक गम्भीर त छ तर पासवर्डहरू क्रिप्टोग्राफीका ह्याश भएकाले तिनलाई प्रयोग गर्न एकदम मुश्किल छ । अर्थात् कसैले पनि सजिलै गरी तपाईंको ईमेल आईडी खोल्नका लागि प्रयोग गर्न सक्दैन । खतरनाक कुरा चाहिँ डार्क वेबमा नभई लोकप्रिय फाइल शेयरिङ वेबसाइटमा अप्लोड गरिएको थियो ।

यस्ता ह्याकबाट बच्नका लागि तपाईं जिमेलसँग जोडिएका थर्ड पार्टी एपहरूलाई बन्द गर्नुस् । अनि पासवर्ड चेन्ज गर्नुस् र पासवर्डमा संख्या तथा विशेष क्यारेक्टरहरूको मिश्रण गर्नुस् । सेटिङमा टू फ्याक्टर अथेन्टिकेसन अन गर्नुस् । एजेन्सी