दलित परिवारलाई बाख्रा वितरण

गुगलपाटी संवाददाता
६ माघ २०७५ ०२:५७

हेटौंडा–दलित समन्वय समिति हेटौंडा–१ ले वडाको भैरवडाँडा, थाकलडाँडा, लालझाडी मैनटार क्षेत्रको २१ दलित परिवारलाई प्रतिपरिवार एउटाको दरले बाख्रा वितरण गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा दलित वर्ग उत्थानका लागि वडा कार्यालयबाट दुईलाख रुपियाँ बजेट विनियोजन भएकोमा समन्वय समितिले एकलाख ५० हजार रुपियाँ ग्रामीण भेगको दलित परिवारको आम्दानी वृद्धिका लागि विनियोजन गरेको थियो । समन्वय समिति अध्यक्ष समिता सुनार तथा वडा नम्बर–१ का अध्यक्ष सविन न्यौपानेले बाख्रा वितरण गरेका थिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका समाजिक विकास अधिकृत भैरवबहादुर कुमाल, दलित संघ केन्द्रीय सदस्य गोपीलाल विश्वकर्मा, मुक्ति समाज प्रदेश सदस्य केशब रसाइली, दलित समन्वय समिति हेटौंडा नगर अध्यक्ष गणेश विश्वकर्मा, वडा नम्बर–१ सदस्य इश्वरी रसाइली, टोल विकास अध्यक्ष नानीमैयाँ विश्वकर्मा लगायतले दलित बर्गको क्षेत्रमा वडा कार्यालयले बजेट विनियोजन गरेकोमा खुशी व्यक्त गरेका थिए ।

प्रमुख अतिथि न्यौपानेले प्रतिपरिवार एउटा बाख्रा उपलब्ध भएको बताउँदै त्यसको उचित लालनपालन गर्न र आम्दानीको स्रोतको रुपमा लिन आग्रह गरे । उनले समातामूलक समाज निर्माणका लागि आफूहरुले काम गरिरहेको दावी समेत गरे ।