गुन्द्रुक र बेसारको बिक्रीमा पनि कर

गुगलपाटी संवाददाता काठमाडौं
६ माघ २०७५ ०८:४६

स्थानीय हाट बजारलाई ग्रामिण किसानले आफ्ना कृषि उपज बेच्ने थलोको रुपमा प्रयोग गर्दै आएका छन् । तर हाट बजारमा सामान बेच्ने किसानमाथि स्थानीय सरकारले करको भार थोपरेका छन् । पाँचथरका स्थानीय तहले हुँदा हुँदा गुन्द्रुक र बेसारको बिक्रीमा पनि कर लगाएका छन् ।

करेसाबारीमा उब्जाइएको रायोको साग र मुलाको गुन्द्रुक बेची नुन र तेल किनेर फर्किने योजना बनाइ ग्रामिण क्षेत्रबाट आएकी यी महिलाले हाटबजारमा सामानैपिच्छे कर तिर्नुपर्‍यो । साग, गुन्द्रुक, खुर्सानी, डालो, नाङलो, डोकोसहित सबै वस्तुको बिक्रीमा कर लगाइएको छ ।

सुँगुरका पाठा बिक्री गर्न कुम्मायक गाँउपालिकाबाट यासोक बजार पुगेका देवीप्रसाद मिफक र प्रेम बहादुर सम्वाहाम्फेले प्रत्येक पाठाको २५ रुपैयाँका दरले कर तिरे ।

आफ्ना कृषि उपज बिक्रीका लागि हाट बजारमा राख्नासाथ किसानले कर तिर्नुपर्छ । स्थानीय सरकारले सामान बिक्री होस नहोस मतलब गर्दैन । अघिल्लो साता बिक्री नभएका सामान हाटबजारमा दोहोर्‍याए ल्याउँदा पुनः कर तिर्नुपर्ने बाध्यता छ ।

पाँचथरका आठवटै स्थानीय तहले कृषि उपज बिक्रीमा लगाएको करले कृषि क्षेत्रमा लगानी बढाउने, किसानलाई सहुलियत दिने र कृषि क्रान्तिमार्फत मुलुकको समृद्धिमा टेवा पुर्‍याउने सरकारकै योजनाको खिल्ली उडाएको छ ।