विश्व नम्बर दुई केरबेर र सारापोभाको अस्ट्रेलिया यात्रा समाप्त
गुगलपाटी संवाददाता एजेन्सीरसियन सुन्दरी मारिया सारापोभा आइतबार अस्ट्रेलियन ओपनको अन्तिम १६ बाट बाहिरिँदा विश्व नम्बर दुई एन्जेलिक केरबेर पनि त्यो भन्दा अगाडि बढ्न सकिनन् ।
३१ वर्षिया सारापोभा १५औं वरियताप्राप्त अस्ट्रेलियाकी एश्लेइघ बार्टेसँग २–१ को सेटमा पराजित भएकी हुन् । डोपिङ काण्डमा परेपछि लय समाउन संघर्ष गरिरहेकी सारापोभाले पहिलो सेट जिते पनि बाँकी सेटमा कमजोर प्रदर्शन गर्दा अन्तिम १६ बाटै बाहिरिइन् ।
३०औं वरियताकी सारापोभाले पहिलो सेट ६–४ ले जितेकी थिइन् । तर बाँकी सेट ६–१, ६–४ को सेटमा पराजित भएपछि सारापोभाको क्वार्टरफाइनल यात्रा सम्भव भएन । यससँगै मेलबर्नमा क्वार्टरफाइनलमा स्थान बनाउने बार्टे चौथो अस्ट्रेलियन महिला बनेकी छिन् ।
२००९ मा जेलेना डोकिकपछि अन्तिम आठमा स्थान बनाउने बार्टे पहिलो अस्ट्रेलियन महिला हुन् ।
“उनी विजेता हुन् । तर आज मैले उत्कृष्ट प्रदर्शन गरेँ । म लयमा हुँदा जित्नसक्छु भन्ने मलाई थाहा छ,” अस्ट्रेलियाकी २२ वर्षिया बार्टेले भनिन् ।
बार्टेले अब दुई पटकको विम्बल्डन विजेता पेत्रा केभितोभासँग प्रतिस्पर्धा गर्नेछिन् । आठौं वरियताकी केभितोभाले अमेरिकाकी एमान्डा एनिसिमोभालाई ६–२, ६–१ को सेटमा पराजित गरेकी हुन् ।
विश्व नम्बर दुई केरबेर अमेरिकाकी ड्यानिल्ले कोलिन्सविरुद्ध निरिह बनिन् । पहिलो सेट ६–० ले हारेकी केरबेर दोस्रो सेटमा पनि ६–२ ले पराजित भएकी थिइन् । कोलिन्सले अब अमेरिकाकै स्लोएनी स्टेफेन्स र रसियाकी एनास्टासिया पाभलेउचेनकोभाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।