आजबाट हेटौंडामा राष्ट्रिय हक्की

गुगलपाटी संवाददाता
७ माघ २०७५ ००:३२

हेटौंडा– हेटौंडामा आजबाट प्रथम सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता सुरु हुने भएको छ । नेपाल हक्की संघ काठमाडौंको आयोजनामा दंगा प्रहरी नियन्त्रण गण हेटौंडा–११ मा प्रतियोगिता हुन लागेको हो ।

मकवानपुर हक्की संघको आतिथ्यतामा हुन लागेको प्रतियोगितामा ५ वटा प्रदेशका खेलाडीसहित नेपाल आर्मी क्लबाट पनि पनि खेलाडी सहभागी हुने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा ६ टिमको ९६ जना खेलाडी सहभागी हुनेछन् ।

माघ ११ गतेसम्म हुने प्रतियोगिताको लागि ११ लाख रुपैयाँ खर्च अनुमान गरिएको हक्की संघका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक मनोज शर्माले जानकारी दिए । प्रतियोगितामार्फत राष्ट्रिय टिमको छनौट हुने बताइएको छ । महिला अधिकारका लागि योगदान दिनुभएकी सहाना प्रधानको योगदानलाई खेलकुद क्षेत्रमा पनि चिरस्थायी बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

महिला खेलाडीबीच भाइचारको विकास हुनुका साथै नयाँ महिला हक्की खेलाडी उत्पादन हुने र महिला खेलाडी आत्मरक्षाको लागि सक्षम हुने पनि आयोजकले अपेक्षा गरेको छ । प्रतियोगितामा प्रदेश नम्बर १, २, ३, ४, ७ र नेपाल आर्मी क्लबका खेलाडीले सहभागिता जनाउनेछन् ।