सञ्चारकर्मी ढकालको स्मृतिमा शोकसभा

गुगलपाटी संवाददाता
७ माघ २०७५ ०४:४१

हेटौँडा – मकवानपुरे सञ्चारकर्मी स्वर्गीय मनोहर ढकालको स्मृतिमा नेपाल पत्रकार महासंघ मकवानपुरले सोमबार शोकसभाको आयोृजना गरेको छ ।

मकवानपुरका पत्रकारहरुको सहभागितामा महासंघ सभाहलमा भएको शोकसभामा बोल्ने पत्रकार नेतृत्वहरुले ढकालको हत्यारालाई कडा काराबाही गरिनुपर्नेमा जोड दिएका थिए । गत पुस २५ गते हेटौँडाको भैरबडाडामा सञ्चारकर्मी ढकालको हत्या भएको थियो । हत्या भएको १० दिनपछि प्रहरीेले शनिबार हत्यामा संलग्न दुईजनासहित ४ जनालाई पक्राउ गरेको छ ।

१३ औं दिनको पुण्यतिथिमा आयोजित शोकसभामा बोल्दै पत्रकार महासंघका तीन नंबर प्रदेश अध्यक्ष प्रताप विष्टले स्वर्गीय ढकालको हत्यारालाई कानुन बमोजिम कडा भन्दा कडा कारबाहीको लागि माग गरे । उनी मकवानपुरकै अग्रज रेडियो प्राविधिक भएको उल्लेख गर्दै विष्टले उनको योगदानको सदैव कदर हुने बताए ।

पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष कौशल पाण्डेले पत्रकार ढकालको हत्याको निन्दा गर्दै हत्याराको पहिचान भैसकेकोले अब कडा कारबाही हुनुपर्नेमा जोड दिए ।
शोकसभामा पत्रकार महासंघ प्रदेश नंबर ३ का महासचिव कृष्ण सारुमगर, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, महासंघ प्रदेश सदस्य नानिमैया विष्ट, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठ, पत्रकार महासंघका पुर्व उपाध्यक्ष गिरिजा अधिकारी, रेडियो अनमोलका स्टेसन म्यानेजर वालकृष्ण दाहाल लगायतले ढकालको योगदानको चर्चा गर्दै उनको हत्यामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरे ।

कार्यक्रमकैबीच प्रेस चौतारी तथा प्रेस सेन्टरको तर्फबाट ढकालको स्मृतिमा “स्वर्गीय मनोहर ढकाल स्मृति रेडियो पत्रकारिता पुरस्कार”को स्थापनाका् घोषणा पनि गरिएको थियो । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा शोकसभा भएको हो ।