अख्तियार मर्यादाक्रम घटुवा प्रति आयोगको आपत्ति
गुगलपाटी संवाददाता काठमाडौंअख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीको मर्यादाक्रम घटुवा गरिएकोप्रति आयोगले आपत्ति जनाएको छ ।
सरकारले परिमार्जन गरेको मर्यादाक्रम सम्बन्धमा सोमवार बसेको आयोगको बैठकमा ध्यानाकर्षण भएको प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले बताए । यसअघि लोकसेवा आयोगले समेत मर्यादाक्रम घटाइएकोप्रति आपत्ति जनाएको थियो ।
संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकमा सदस्य रहने पदाधिकारीको मर्यादाक्रम बढाइएको र संवैधानिक पदाधिकारीको घटाइएकोप्रति आयोगले आपत्ति जनाएको छ । संवैधानिक पदाधिकारीको मर्यादाक्रम घटाउँदा बैठक सञ्चालनको न्यूनतम मूल्य मान्यता प्रभावित हुने आयोगको ठहर छ ।
‘नेपाल सरकारले हालै जारी गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम निर्धारणप्रति यस आयोगको ध्यानाकर्षण भएको छ,’ आयोगका प्रवक्ता दंगालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकहरूमा सदस्य रहने पदाधिकारीहरूको मर्यादाक्रम संवैधानिक पदाधिकारीहरूभन्दा माथि रहेको तर संवैधानिक पदाधिकारीहरूको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा रहँदा कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम् मूल्य मान्यता समेत प्रभावित हुने अवस्था सिर्जना हुन जाने तथा मनोबलमा समेत असर पर्न जाने हुँदा मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमा समेतलाई आधार मानी संवैधानिक निकायका आयुक्त एवं सदस्यहरूको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखहरूको लगत्तैपछि राख्ने गरी मर्यादाक्रम निर्णयको पुनरावलोकन हुन आयोग नेपाल सरकारसमक्ष आग्रह गर्दछ ।’