निर्मला हत्याकाण्ड बारे फिल्म बन्दैँ
गुगलपाटी संवाददाता काठमाडौंकञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि फिल्म बन्दै छ । हत्या भएको ५ महिना बितिसक्दा पनि राज्य संयन्त्रले अपराधी पत्ता लगाउन नसकेको अवस्थालाई लिएर निर्देशक शिवम् अधिकारीले फिल्म बनाउन थालेका हुन् । छायांकन सकिएर पाेस्ट प्राेडक्सनमा गएकाे फिल्मको नाम ‘कोपिला’ राखिएको छ ।
फरकधारसँग कुरा गर्दै निर्देशक अधिकारीले भने, ‘राज्यसंयन्त्र किन वास्तविक अपराधीसम्म पुग्न सकेको छैन ? घटनाको निचोडसम्म किन पुग्न सकेको छैन र कुन कुन ठाँउमा राज्य चुकिरहेको छ ? यसलाई हामीले पर्दामा उतार्न खोजेका छौँ ।’
‘सरकारले आफ्नो तर्फबाट गरेको अनुसन्धानलाई हामीले आफ्नो तरिकाले देखेका, बुझेका छौँ । त्यसरी आफूले देखेका र बुझेका कुरालाई हामीले फिल्ममा देखाउँदै छौँ,’ अधिकारीले भने, ‘यो घटनामा प्रतिपक्षको भूमिका कस्तो रह्यो र यो मुद्दामा कसको कस्तो राजनीतिक चलखेल भयो, लासमाथि कसकसले राजनीति गरे भनेर खाेतल्ने जकर्काे गरेका छौँ ।’
अनुसन्धान चलिरहेको विषयलाई लिएर फिल्म बनाउँदा विवादमा मुछिने त होइन ? भन्ने फरकधारकर्मीको प्रश्नमा अधिकारीले भने, ‘हामीले अनुसन्धानकै क्रममा रहेको विषयमाथि फिल्म बनाए पनि हामीले विवादास्पद कुरालाई उठाएका छैनौँ । हामी फिल्ममा घटनाको निचोडमा पुगेका छैनौँ । हामीले त फिल्ममा अपराधी पक्रिन नसक्नुमा सरकार किन र कसरी चुकिरहेको छ र यस्तो घटनाले पीडितको परिवार र समग्र समाजमा कस्तो असर पार्छ भन्ने चित्र पस्कनेछौँ ।’
फिल्मले सबैमा राम्रो प्रभाव र चेतना प्रवाह गर्नेमा आफू निकै आशावादी रहेको उनी बताउँछन् ।
फिल्मले निर्मला पन्तजस्ता हजारौँ बलात्कार र बलात्कारपछि हत्या भएका धेरै निर्मलाको कथा बोकेको निर्माता मणिराज गौतमले बताए । ‘फक्रन नपाउँदै एउटा कोपिलाको जब बलात्कार र हत्या हुन्छ, त्यसले पीडितको परिवार, समाज र समग्रमा सम्पूर्ण नारीहरुको मनोविज्ञनानमा कस्तो असर पर्छ, त्यसलाई चलचित्रले देखाउन खोजेको छ,’ गौतमले भने ।
करिब ८० लाखको लागतमा बन्दै गरेको ‘कोपीला’लाई सञ्चारकर्मी मणिराज गौतम र करुणकर घिमिरेले संयुक्त रुपमा निर्माण गर्दै छन् ।
फिल्मको छायांकन कञ्चनपुरका केही ठाउँ र चितवनमा गरिएको छ । फिल्ममा सरिता गिरी, गणेश गिरी, सिद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतीक्षा खड्का, सिया आचार्यलगायत कलाकारको मुख्य अभिनय छ ।
फिल्मको प्रदर्शन मिति र ट्रेलर केही दिनमा पत्रकार सम्मेलन गरी घोषण गर्ने निर्माता गौतमले बताए ।