फागुन १६ बाट हेटौंडामा मेला हुँदै, मिनी चिडियादेखि डुङ्गा सयर सुविधा

गुगलपाटी संवाददाता
८ माघ २०७५ ००:३६

 हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ गतेबाट हेटौंडा–५ स्थित क्याम्पाचौरमा राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७५ हुने भएको छ । ‘विकासको पूर्वाधार, उद्योग र व्यापार’ भन्ने नाराका साथ आयोजना गर्न लागेको मेलाको तयारी तीव्र पारिएको आयोजक संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

यसबर्ष फरक स्थानमा फरक ढंगबाट मेला आयोजना गर्ने तयारी भैरहेको मउवा संघ अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । ‘जिल्लामा उद्योग व्यापार क्षेत्रको विकास गरी समग्रमा देशकै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले संघले बृहत औद्योगिक व्यापार मेला आयोजना गर्न लागिएको अध्यक्ष कटुवालले जानकारी दिएका छन ।

मेलामा चार सय स्टल रहने भन्दै कटुवालले परम्परा र संस्कृतिको संरक्षणका लागि पञ्चेबाजा प्रतियोगिता, दैनिक रुपमा विभिन्न जनजातिको स्थानीय भेषभुषामा साँस्कृतिक कार्यक्रम, मिनी चिडियाखाना, हेलिकप्टर, हात्ती तथा घोडचडी, डुंगा सयर र बालबालिकाहरुको मनोरञ्जनका लागि बालउद्यानको समेत व्यवस्था बताएका छन ।

जोखिमयुक्त मौतका कुवा यसपटक समावेश नगरिने अध्यक्ष कटुवालले बताए । करिव ५ लाख अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने र करिव ५० करोड वरावरको कारोवार हुने आयोजकले अपेक्षा गरेको छ । मेलाको लागि स्टल बुकिङ्ग सोमबारबाटै खुला गरिएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवको लागि १०१ सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको भन्दै संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले प्रत्येक दिन फरक फरक बिषयमा निशुल्क स्वास्थ्य शिविरको आयोजना समेत हुनेछ बताएका छन ।