स्वाइन फ्लुको को कारण २१ दिनमा ५१ जनाको मृत्यु
गुगलपाटी संवाददाता एजेन्सीभारतको राजस्थानमा स्वाइन फ्लुले महामारीको रुप लिएको छ । राज्यको ३३ जिल्लामध्ये ३१ जिल्ला स्वाइन फ्लुको चपेटामा परेका छन् । जनवरी १ देखि २१ सम्ममा ५१ जनाको मृत्यु भइसकेको छ । सोमबार मात्रै १०२ जना स्वाइन फ्लुका विरामी भेटिएका छन् ।
जनवरीमा मात्रै १३३५ जना स्वाइन फ्लुबाट संक्रमित भएको सरकारी तथ्यांकमा छ । योबाहेक सोमबार ४७ जना विरामी जयपुरमा भेटिएका छन् । जयपुरमा ५ जनाको मृत्यु भइसकेको छ । सिकर, नागौर र उदयपुरमा तीन–तीन जनाको मृत्यु भएको छ ।
अजमेर, टोंक, पाली, जालोर, बिकानेर, चुरु, राजसमन्द र श्रीगंगानगरमा एक –एक जनाको मृत्यु भएको छ । जैसलमेर, बाडमेर, प्रतापगढ र कोटा जिल्लामा दुई–दुई जनाको मृत्यु भएको छ । राजस्थानमा पहिला पनि जिका भाइरस फैलिएकाे थियाे ।
पूर्वस्वास्थ्य मन्त्री कालीचरण सराफले सरकारले यसको तथ्यांक लुकाएको र रेलवे स्टेशन, स्कुल,कलेजमा स्क्रिनिङको कुनै व्यवस्था नगरेको आरोप लगाएका छन् । स्वास्थ्यमन्त्री रघु शर्माका अनुसार ५३६७ काे परीक्षण गर्दा १२३३ मा स्वाइन फ्लु देखिएको छ । जसमध्ये ४ प्रतिशतको मृत्यु भएको छ ।
राजस्थानपछि स्वाइन फ्लुको संक्रमण पञ्जाबमा धेरै फैलिएको छ । पञ्जाबमा ५० जना संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ । यसपछि जम्भुकाश्मिरमा ४० जना स्वाइन फ्लु संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ ।