नेपाल महिला टिमले अब भारत र अरु देशसँग पनि प्रतिष्पर्धा गर्ने

गुगलपाटी संवाददाता काठमाडौं
९ माघ २०७५ ०६:३५

माघ २४ देखि फागुन ५ सम्म भुवनेश्वरमा हुने प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र श्रीलंकाजस्ता देशहरु सँग प्रतिष्पर्धाको लागि भारत प्रस्तान गर्ने भएको छ । आगामी फागुन २८ देखि चैत ८ सम्म विराटनगरमा हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली महिला टोलीले साफअघि भारतमा अन्तर्राष्ट्रिय स्तरको खेल खेल्ने भएको छ ।

भारतीय फुटबल संघको निमन्त्रणामा नेपाली महिला टोलीले सहभागिता जनाउन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
भारतले साफको तयारीस्वरूप प्रतियोगिता सञ्चालन गर्न लागेको बताइएको छ । साफ च्याम्पियनसिपको आयोजक नेपालका लागि उक्त खेललाई महत्वपूर्ण रूपमा लिइएको छ ।

साफलाई लक्षित गरी नेपालले यसपटक लामो समयदेखि तयारी गरिरहेको छ । हरि खड्काको प्रशिक्षणमा रहेको नेपाली महिला टोली अहिले पनि प्रशिक्षणमा व्यस्त छ । विराटनगरको सहिद रंगशालामा हुने महिला साफको समूह विभाजन यसअघि नै भइसकेको छ ।

नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा बंगलादेश, भुटान र पाकिस्तान छन् । समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

नेपाली महिला टोलीले दुई महिनाअघि मात्र सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोटको दोस्रो चरणमा स्थान बनाएको छ । ओलम्पिक छनोट र साफलाई समेत लक्षित गरी महिला टोलीले चीनमा मैत्रीपूर्ण खेल र अभ्यास पनि गरेको थियो ।

नेपाल महिला साफमा हरेकपटक उपविजेतामा सीमित बनिरहेको छ । भारत च्याम्पियनसिपको साविक विजेता हो । भारतले सबै संस्करणको उपाधि जितेको छ ।