करेन्ट लागेर १ जना गम्भिर घाइते
गुगलपाटी संवाददाता हेटौँडाहेटौँडा, इन्द्रसरोवर गाउँपालिका वडा नं ५ को चखेल मकैबारी स्थित सडकमा लत्रीएको तारबाट करेन्ट लाग्दा एकको गम्भीर घाईते भएको छ । उक्त लत्रिको तारबाट सोहि वडाका रामकृष्ण कार्की घाइते भएको हो । आज बिहान करिब ६ बजे मोटरसाइकलमार्फत मकैबारी जाँदै गर्दा ११ हजार लाइनको तार बाटोमा लछारिएको देखे पछि पन्छ्याउन खोज्दा करेन्ट लागेको स्थानियले बताएको छ ।
कार्कीको अहिले पाटन अस्पतालमा आकस्मिक कक्षमा उपचार भइरहेको छ । करेन्ट लागेर खुट्टा, हात र ढाड लगायत शरीरका अन्य भाग जलेको उनको श्रीमती शर्मिला कार्कीले बताइन् । अस्पतालका अनुसार आइ.सी.यु. खाली नभएकाले अन्यत्र रेफर गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
विगत लामो समय देखी नै फाखेलमा नेपाल विद्युत प्राधिकरणले चरम रुपमा लापरबाही गर्दै आइरहेको छ । नयाँ तथा पुराना विद्युत लाइनहरु अव्यवस्थित रुपमा यत्रतत्र, लथालिङ्ग छोडिएको पाइन्छ ।
बेलाबेलामा यस्ता घटनाहरु घटिरहेको अवस्थामा ज्वलन्त उदाहरणको रुपमा यो घटना घटेको छ । जनधनको क्षति हुने कुरामा समेत नेपाल विद्युत प्राधिकरणको गरेको यस्तो लापरबाही प्रती स्थानिय आक्रोशित बनेका छन् । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख सन्तोष पन्तका अनुसार घाइतेलाई आवश्यक कागजी प्रक्रिया मार्फत क्षतिपूर्तिको व्यवस्था गर्ने बताए ।