मोबाइल हरायो ? चिन्ता नगर्नूस् प्रहरीले खोजिदिन्छ
गुगलपाटी संवाददाताहेटौंडा–सूचना प्रविधिको विकाससँगै महङ्गा स्मार्ट फोनहरु बजार आइरहेका छन् । ती महङ्गा मोबाइलहरु हराउने तथा चोरी हुने क्रम पनि बढेको छ । तर, मोबाइल हरायो भनेर चुप नबस्नुस् । आइएमआई नम्बरसहित प्रहरीमा उजुरी दिनुस् । तपाईको मोबाइल प्रहरीले खोजिदिन्छ । भेटेपछि बोलाएर तपाईलाई दिन्छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार मात्रै विभिन्न समयमा हराएको तथा चोरी भएको १८ थान मोबाइल सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालयमा सम्बन्धित मोबाइल धनीलाई बोलाएर १८ थान मोबाइल फिर्ता गरेको हो । प्रहरी कार्यालयमा परेको निवेदनको आधारमा खोजतलासको क्रममा उक्त मोबाइल फेला पारी फिर्ता गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
१२ हजारदेखि ३६ हजार मूल्यसम्मका मोबाइलहरु सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको जानकारी दिइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैशाख महिनादेखि हालसम्म एकसय ६८ थान मोबाइल सम्बन्धित मोबाइल धनीलाई फिर्ता गराइसकेको छ ।
उक्त मोबाइलको मूल्य करिब २५ लाख २० हजार रुपैयाँ रहेको डीएसपी भट्टराईले जानकारी दिए । प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वमा हराएका तथा चोरी भएका मोबाइल खोज्न निरन्तर टोली खटिइरहेको छ । निवेदन परेका अन्य व्यक्तिहरुको मोबाइल खोजी कार्य समेत जारी रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।