हेटौंडामा सरकार विरुद्धको प्रदर्शन

गुगलपाटी संवाददाता हेटौंडा
१० माघ २०७५ ११:०५

नेपाल काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आज विहिवार हेटौंडामा सरकारको विरोधमा प्रदर्शन गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको विरोधमा नारा लगाईएको थियो ।

सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले सरकार भ्रष्ट्रचारी र तानशाही भएको बताउनुभएको छ । बस्नेतले विभिन्न जातका कम्युनिष्टहरुले सत्ताको मोजमस्ती गरेको, जंगवहादुरको शैली अपनाएको भन्दै अबको आन्दोलनले कम्युनिष्टहरु परास्त हुने चेतावनी दिए ।

नेपाली काँग्रेसकै अगुवाइमा देशमा लोकतन्त्र स्थापित भएको भन्दै अध्यक्ष बस्नेतले कम्युनिष्ट सरकारले न्यायालयमा राजनीति घुसाएको, भ्रष्टाचार आरोप लागेका मन्त्रीहरुलाई समेत जोगाएर राखेको तथा संविधान कुल्चने काम गरेको आरोप लगाए ।

‘हामी प्रजातन्त्र जोगाउने दलका कार्यकर्ता हौँ’, अध्यक्ष बस्नेतले भने–‘कुनै पनि हालतमा कम्युनिष्टको अधिनायकवाद सहेर बस्नेवाला छैनौँ ।’वाइडबढी काण्डमा मन्त्री रविन्द्र अधिकारी र मेलम्ची खानेपानीको कमाम रोकिँदा मन्त्री विना मगरलाई कारबाही गर्नु पर्ने बताउनुभएको छ ।

विरोध प्रदर्शन तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठकको अध्यक्षतामा भएको हो भने नेपली कांग्रेस ३ नम्बर प्रदेशका विपक्षी दलका नेता इन्द्र बहादुर बानियाँ, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्र जंग शाही र कोषाध्यक्ष विद्धान गुरुङले सम्बोधन गरेका थिए ।

हेटौंडा–२ काँग्रेसचोकबाट सुरु भएको र्याली उद्योग वाणिज्य संघ चोक, बुद्धचोक, चौघडा टेम्पो पार्क चोक, स्कुलरोड हुँदै बुद्ध चोकमा पुगेर सभामा परिणत भएको हो ।