परम्परागत खाद्य पदार्थको प्रवद्र्धन गर्न खाद्य मेला

गुगलपाटी संवाददाता
११ माघ २०७५ ००:३९

हेटौंडा– हेटौंडा–१८ हर्नामाडीस्थित ज्योति माविको प्राङ्गणमा आज शुक्रबारदेखि खाद्य मेला सुरु हुँदैछ । १३ गतेसम्म आयोजना हुने मेलामा स्टल राख्नेलाई भत्ताकोसमेत व्यवस्था गरिएको छ ।

अल्प प्रचलनमा रहेका खाद्य पदार्थको उपयोगिता र महत्वबारे जानकारी दिँदै परम्परागत खाद्य पदार्थको प्रवद्र्धन गर्नको लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले मेलाको आयोजना गरेको हो । ‘परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणको लागि खाने बानीमा सुधार गरौं’ भन्ने नाराको साथ हुन लागेको मेलाको आज कृषि तथा पशुपन्छी राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मेलामा करिब ५५ वटा स्टल रहने बताइएको छ । करिब १५ हजार जनाभन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको कार्यालयका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सोमकान्त रिजालले जानकारी दिए । मेलामा जोसुकै पनि निशुल्क रुपमा खाद्य स्टल राख्न सक्नेछन् ।
मेलामा विभिन्न परम्परागत खाद्य पदार्थको प्रदर्शनी तथा त्यसको पौष्टिक महत्वको बारे जानकारी, होटल, खाद्य व्यवसायी, खाद्य उद्यमको लागि मेशिनरी उपकरण तथा खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्सहरु, खाद्य प्रविधिसँग सम्बन्धित शैक्षिक संस्थाहरुको स्टल रहने बताइएको छ ।

स्टलहरुमा स्थानीय स्तरमा उत्पादित खाद्य वस्तु, विभिन्न जातजातीसँग सम्बन्धित पोषिला खाद्य बस्तुको विक्री तथा प्रदर्शनी पनि हुने कार्यालयले जनाएको छ ।