प्रधानमन्त्री ओलीको पुत्ला दहन
गुगलपाटी संवाददाता काठमाडौंप्रतिपक्षी दल कांग्रेसको विरोधबीच संसदबाट चिकित्सा शिक्षा विधेयक पास गरिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै नेविसंघका कार्यकर्ताहरुले आइतबार बिहान काठमाडौंको पशुपति क्याम्पस अगाडि पुत्ला दहन गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।
प्रधानमन्त्री ओलीको पुत्ला जलाउनुअघि नेविसंघ काठमाडौं सभापति मनोज वैद्यको नेतृत्वमा पशुपति क्याम्पस अगाडि प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।
आफूहरुको विरोधकाबीच दुई तिहाइ बहुमतको दम्भबाट चिकित्सा शिक्षा विधेयक पारित गरिएको भन्दै कांग्रेस सरकारविरुद्ध आक्रामण बनेको छ। सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन थाल्ने घोषणा कांग्रेसले गरिसकेको छ। कांग्रेसको घोषणा पछि उसका भ्रातृ संगठनहरु सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन्।
यस्तै, नेविसंघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न र वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचारको छानविन गर्न माग पनि गर्दै आएको छ। नेविसंघले देशभरका क्याम्पस अगाडि सरकारविरुद्ध केहीबेर चक्काजाम पनि गरेका थिए।
यसैबीच, काठमाडौंको बालाजुमा प्रदर्शनमा उत्रिएका १६ जना नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। विरोध प्रदर्शनका क्रममा नेसिसंघका नेताहरु पवन थापा, सन्तोष गुरुङ, उत्तम पाठक र परोपकार अधिकारी लगायतका १६ जनालाई प्रहरीले पक्राउ गरेको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।