प्रदेश ३ मा ३ सय ९४ कुष्ठरोगी, मकवानपुरमा १९ जना
गुगलपाटी संवाददाताहेटौंडा–प्रदेश ३ का १३ जिल्लामा ३ सय ९४ जना कुष्ठरोग रहेको पाइएको छ ।
आइतबार प्रदेश ३ स्वास्थ्य निर्देशनालयद्वारा ६६ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको छ ।
निर्देशनालयका अनुसार प्रदेश ३ मा सबैभन्दा बढी काठमाडौं १ सय १६ जनामा कुष्ठरोगी फेला परेका छन् । त्यसैगरी भक्तपुरमा २, नुवाकोटमा १ सय ७, दोलखामा २, धादिङमा ५, चितवनमा ९३ र मकवानपुरमा १९ जना रोगी फेला परेको जनाइएको छ । कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य भन्ने राष्ट्रिय नारासहित आयोजना गरिएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्देशनालयका निमित्त निर्देशक डा.रामबहादुर केसीले प्रदेश ३ मा देशभरको तुलामा शुन्य दशमलव आठ प्रतिशत रोगी फेला परेको जानकारी दिए । उनले सबैभन्दा बढी प्रदेश २ मा रोगी पहिचान गरिएको बताए ।
पहिचान भएका सबै रोगी उपचारत् छन् । हालसम्म देशभर १ लाख ८० हजार रोगीको उपचार भइसकेको र सन् २०१६ देखि २०१८ सम्म २ हजार २ सय १५ जनामा कुष्ठरोग उन्मुलन गरिएको निर्देशनालयको दाबी छ ।
निर्देशनालय प्रमुख केसीले सन् २०२० सम्म नेपाल कुष्ठरोग मुक्त बनाउने अभियान सञ्चालन गरिएको सहयोग गर्न आग्रह गरे । उनले तराइका जिल्ला रोग बढी देखिएकोले निर्देशनालय अन्तर्गतका जिल्लामा सचेतनामुलक कार्यक्रमलाई जोड दिइएको दाबी गरे ।
कार्यक्रममा हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा.प्रविण श्रेष्ठ, सामाजिक विकास मन्त्रालय प्रदेश ३ का जनस्वास्थ्य अधिकृत कुमार दाहाल, मन्त्रालय महिला विकास प्रमुख अधिकृत शारदा बस्याल, कुष्ठरोग विशेषज्ञ उत्तम खनाललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ३ अध्यक्ष प्रताप बिष्ट, प्रदेश स्वास्थ्य निर्देशनालय अधिकृत विभुकुमार झालगायतले मन्तब्य व्यक्त गरेका थिए ।