कांग्रेसको विरोधबीच विधेयक पेश
गुगलपाटी संवाददाता काठमाडौंप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण सोमवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ ।
१५ मिनेटका लागि स्थगित गरिएपछि बसेको दोस्रो बैठक शुरू हुनासाथ कांग्रेस सांसदले उभिएर विरोध जनाएका थिए ।
कांग्रेस सांसदको विरोधका वाबजुद सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधि सभाबाट पारित चिकित्सा शिक्षा विधेयक टेबुल गर्न सचिवलाई अनुमति दिए । त्यसपछि कांग्रेस सांसदहरू नारावाजी गर्दै वेल घेराउ गर्न पुगेका थिए ।
उनीहरूले संसदीय सर्वोच्चता कायम गर, बलजफ्ती बन्द गर लगायतका नाराबाजी गरेका थिए । त्यसपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
प्रतिपक्षी दलको विरोधबीच विधेयक टेबुल भएको छ । कांग्रसको विरोधबीच प्रतिनिधि सभाको शुक्रवारको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो ।
सोमवार बसेको बैठकको शुरूमै कांग्रेस सांसदहरू उभिएर गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल संघ मातहत ल्याउने निर्णय नगर्दासम्म बैठक चल्न नदिने बताएका हुन् ।
आफ्ना नेताको नाममा रहेका अस्पताललाई केन्द्र सरकार मातहत ल्याउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ ।
अध्यक्षसँग समय लिएर कांग्रेस सांसद बद्री पाण्डेले सरकार झनझन असहिष्णु र स्वेच्छाचारी बनेको आरोप लगाए । ‘सरकारले राजा महेन्द्र र श्री ३ महाराजको जस्तो कांग्रेस नेताहरूका नाममा रहेका अस्पताल खारेजीको तगारी गरेको छ, नेकपालाई ज्ञात रहोस् व्यवस्था फेरिएको होइन सरकार मात्र फेरिएको हो,’ पाण्डेले भने ।
उनले प्रतिनिधिसभाका चिकित्सा शिक्षा विधेयक पारित गर्ने क्रममा सरकारले गरेको बलजफ्ती र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेताको अनुपस्थितिमा गरिएका निर्णयबारे आफूहरू निकै गम्भीर भएको बताए ।