निमोनियापीडित बालकलाई सांसद बानियाँको सहयोग

गुगलपाटी संवाददाता
१५ माघ २०७५ ००:१६

हेटौंडा– नेपाली काँग्रेस प्रदेश नम्बर ३ का संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले निमोनिया पीडित एक शिशुलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

राक्सिराङ गाउँपालिका–२ कुँडुलेका २ महिने बालक योसेफ प्रजाको उपचारमा आर्थिक अभाव भएको भन्ने सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएपछि सांसद बानियाँले शिशुको उपचारको लागि २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । प्रजा करिब दुई हप्तादेखि निमोनियाबाट पीडित बालकको आर्थिक अभावका कारण उपचारमा समस्या भएको जानकारी पाएश्चात बानियाँले सहयोग रकम कांग्रेस नेताहरु मार्फत परिवारलाई हस्तान्तरण गरेका हुन् ।

कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानमार्फत बालकको आमा सानुमायालाई सोमबार रकम हस्तान्तरण गरेका हुन् ।

नेता बानियाँले आर्थिक अभावका कारण उपचारमा कुनै कमी नहोस भन्दै उपचारमा संलग्न चिकित्सकलाई रकम अभाव भएमा आफूले उपलब्ध गराउने जानकारी समेत दिएका छन् ।

त्यसैगरी निमोनिया पीडित बालक योसेफलाई सिविन बाल हेल्पलाईन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले पनि विभिन्न सामाजिक  भियन्ताहरुबाट संकलन गरेको १० हजार १ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । हेटौैंडा–१४ का शिक्षक विशाल अधिकारी आशुतोषले शिशुको उपचारमा आर्थिक अभाव भएको भन्दै फेसबुकमा स्टाटस राखेपछि उक्त सहयोग संकलन भएको थियो ।

सहयोग रकम हस्तान्तरण गर्न कांग्रेस मनहरी गाउँपालिका सचिव प्रकाश बर्तौला, नेपाल तरुण दल ४ नम्बर क्षेत्रीय सभापति एवम् मनहरी गाउँपालिका–७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङ, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारीलगायत भरतपुरस्थित चितवन मेडिकल कलेज पुगेका हुन् ।