हेटौंडामा सडक र भवनको नयाँ मापदण्ड बन्दै
गुगलपाटी संवाददाता१६ माघ २०७५ ००:३५
हेटौंडा– हेटौंडा उपमहनागरपालिकाले सडक र भवन निर्माणको नयाँ मापदण्ड बनाउने निर्णय गरेको छ ।
उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले सडक र भवन निर्माणको मापदण्ड परिमार्जन गर्ने निर्णय गरेको हो । अहिले रहेको सडकलाई थप फराकिलो र व्यवस्थित शहर निर्माण गर्ने उद्दश्यका साथ सडक र भवन निर्माणको मापदण्ड तयार पार्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।
अहिले भएको सडक मापदण्ड भन्दा फराकिलो सडक बनाउनुपर्ने भन्दै उनले हेटौंडाका १९ वटै वडा कार्यालयले सहमती जुटाएर आफ्नो वडा भित्रको सडकको मापदण्ड, सडकको नाम, सडकको लम्बाई र चौडाई तयार पार्नका लागि सहयोग गर्नुपर्ने बताए । सडक र भवनको मापदण्ड बनेपछि हेटौंडाका अहिले भन्दा थप व्यवस्थित हुने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्पराज शाहिले बताए ।
त्यसैगरी मंगलबारको कार्यपालिकाको बैठकले हेटौंडाका प्रत्यक वडाले आफ्नो वडाभित्र रहेका सार्वजनिक जग्गाहरुलाई पहिचान गर्ने निणय गरेको छ । उपमहानगरपालिकाको नाममा रहेको सार्वजनिक जग्गाको पहिचान गर्ने र त्यसपछि संरक्षणको काम अघि बढाइने मेयर महतले बताए ।
अहिले उपमहानगरपालिकाको नाममा भएका सार्वजनिक जग्गाको संरक्षण पनि नभएको र भएका केही जग्गाहरु पनि अतिक्रमणमा परेकोले यसको संरक्षणको प्रयास थालिएको हेटौंडा ६ का वडाअध्यक्ष अर्जुन प्रसाद चौलागाईले बताए । सबै सार्वजनिक जग्गाको पहिचान भएपछि अतिक्रमण गरिएको जग्गा फिर्ता लिएर संरक्षण गरिने उनले बताए ।