हेटौंडामा जिल्लास्तरीय तेक्वान्दो हुँदै
गुगलपाटी संवाददाताहेटौंडा– लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ ।
यही १८ र १९ गते हेटौंडामा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । जिल्लामा रहेका खेलाडीको प्रतिभा एवम् क्षमतालाई प्रष्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष सबिन भट्टाचार्यले जानकारी दिए ।
मकवानपुरमा रहेका विभिन्न ९ वटा डोजाङबाट एकसय २० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । महिला र पुरुष गरी विभिन्न तौल समूहमा प्रतिष्पर्धा हुने लोकतान्त्रिक खेलकुद संघ मकवानपुर सचिव प्रदीप कंडेलले बताए । प्रतियोगिताको लागि संघका जिल्ला सदस्य मानबहादुर वाईबाको संयोजकत्वमा समिति गठन भएको छ ।
टाढाबाट आउने खेलाडीलाई खाना र बासको व्यवस्था समेत गरेको आयोजकले जानकारी दिएको छ । जिल्लास्तरीय तेक्वान्दोमा टीसीएन, तासिर, क्रियटिभ, किरणचोक, पशुपतिनगर, नामटार गैरिगाउँ, सनराइज तेक्वान्दो डोजाङ, हटिया तेक्वान्दो डोजाङ र हेटौंडा तेक्वान्दो डोजाङका खेलाडीहरु सहभागी हुनेछन् ।
विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको कार्यक्रम संयोजक मानबहादु वाईबाले जानकारी दिए ।