चार दशकपछि मनहरीसँग जोडियो चैनपुर
गुगलपाटी संवाददाता मकवानपुर,१७ माघनिर्माण सुरु गरेको चार दशकपछि राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुर राजमार्गसँग जोडिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरीदेखि चैनपुरसम्म सात किमि सडकको ट्रयाक खुलेको हो ।
ट्रयाकको बिहीबार प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले रिबन काटेर उद्घाटन गरे । उनले उद्घाटनसँगै उक्त ट्रयाकबाट मोटरगाडी मार्फत चैनपुुर पुगेर राक्सिराङ गाउँपालिकाको चौथो गाउँसभा उद्घाटन गरेका थिए ।
तत्कालिन जिल्ला विकास समितिले २०३४ सालदेखि सडक निर्माण कार्य थालनी गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि राक्सिराङ गाउँपालिकाको पहिलो बैठकले चैनपुर मनहरी सडकको ट्रयाक खोल्ने निर्णय गरेपछि कामले गति लिएको हो ।
सडकको ट्रायक उद्घाटनसँगै गाउँपालिकाको चौथो गाउँसभा सुरु भएको छ । सभाको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भएको एक वर्षको बीचमा पर्याप्त काम भएको बताए । ‘हामीले पर्याप्त काम गरेका छौं,परिणामहरु अब देखिँदै जानेछ’,उनले भने । पश्चिमी मकवानपुरको विकास र यस क्षेत्रको बिपन्न चेपाङ जातिको उत्थानको लागि चालु आर्थिक वर्षमा पाँच करोड अनुदान दिइएको उनले बताए ।
प्रदेश तीनका प्रमुख बिपक्षी दलका नेता तथा यसै क्षेत्रबाट प्रदेशसभामा निर्वाचिन इन्द्र बानियाँले प्रदेश सरकारको राम्रो काममा प्रतिपक्षले सधैँ साथ दिने बताए ।
कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल,राप्रपा नेपालका नेता सितराम बर्तौला,नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट लगायतले बोलेका थिए । कार्यक्रमा प्रदेशसभा सदस्य सन्त चेपाङ,पूर्व सभासद राजाराम स्याङ्तान,नेपाली काँग्रेसका नेता रघुरमण न्यौपाने,बुद्ध लामा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको हो ।
गाउँसभामा लामो समयदेखि चेपाङ समुदायको समाचार लेखेको भन्दै पत्रकार प्रताप विष्ट र कृष्ण सारु मगरलाई सम्मान गरिएको थियो